अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ मा रहेको केदारेस्वर सामुदायिक वनले स्थानीयवासीका लागि खानेपानी सुविधा विस्तार गर्ने अभियान अघि बढाएको छ।
वनका अध्यक्ष हर्कबहादुर नेगीको नेतृत्वमा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत चैत्र २४ गते बसेको उपभोक्ता समितिको बैठकले प्रत्येक घरधुरीमा खानेपानी जडान गर्न लाग्ने खर्च व्यवस्थापनका लागि प्रति उपभोक्ता रु. ८,००० सहयोग गर्ने निर्णय गरेको हो।
यसैगरी, पाइपलाइन विस्तार तथा जडान कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन पेस्की बापत रु। २,५०,००० (दुई लाख पचास हजार) रकम समेत हस्तान्तरण गरिएको समितिले जनाएको छ।
घरघरमा स्वच्छ खानेपानी पुर्याउने उद्देश्यसहित अघि बढाइएको यो अभियानलाई स्थानीय स्तरमा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। यसले उपभोक्ताहरूको दैनिक जीवन सहज बनाउनुका साथै स्वास्थ्य र सरसफाइमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
उक्त कार्यप्रति स्थानीय उपभोक्ताहरूले खुशी व्यक्त गर्दै केदारेस्वर सामुदायिक वनका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद दिएका छन्।