धनगढीमा निःशुल्क ‘विद्यार्थी क्षमता विकास अभियान’ सञ्चालन हुने

धनगढी, २७ चैत : कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित चैतन्य पाठशाला ले एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि निःशुल्क ‘चैतन्य विद्यार्थी क्षमता विकास अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पाठशालाले कार्यक्रमको घोषणा गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १ हजार विद्यार्थीलाई लक्षित गर्दै उनीहरूको व्यक्तित्व, सीप र भविष्य उन्मुख क्षमताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम ल्याएको जनाएको छ ।
अभियान अन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व कला, प्रस्तुतीकरण तथा नेतृत्व विकास, योग तथा ध्यानमार्फत मानसिक सन्तुलन, अंग्रेजी भाषा (सम्प्रेषण र लेखन) लगायतका विषयमा प्रशिक्षण दिइनेछ ।
त्यसैगरी सूचना तथा सञ्चार प्रविधि अन्तर्गत कम्प्युटर, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, भिडियो सम्पादन र प्रोग्रामिङका कक्षा सञ्चालन गरिनेछन् । आतिथ्यता क्षेत्रमा वेटर, बारिस्टा र कुकिङ तथा खेलकुदअन्तर्गत फुटबल, क्रिकेट, बास्केटबल र तेक्वान्दोसम्बन्धी तालिम पनि समावेश गरिएको छ ।
कार्यक्रम २०८३ साल वैशाख ६ गतेदेखि सुरु हुने र सीमित सिटका कारण ‘पहिला आउनेलाई प्राथमिकता’को आधारमा सहभागी छनोट गरिने संस्थाले जनाएको छ । प्रशिक्षण विषयगत विज्ञहरूबाट सञ्चालन गरिनेछ भने सफल सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले एसईई प्रवेशपत्र, अभिभावकको नागरिकताको प्रतिलिपि र विद्यालयको सिफारिस पत्र पेश गर्नुपर्नेछ । पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम ल्याइएको जानकारी दिँदै समयमै सहभागिता जनाउन आग्रह गरेका छन् । यस्तै कार्यक्रममा पाठशालाका प्रिन्सिपल प्रेम निधि ओझाले संस्कार सहितको शिक्षाका लागि सबैले आफ्ना नानी बाबुहरुलाई पढाउनका लागि अनुरोध गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.