लम्की दुर्घटना : स्थानीयले गरे राजमार्ग बन्द

धनगढी  : कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। लम्कीचुहा नगरपालिका–७ गुलरास्थित महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सडक खण्डमा सुपप्र ०१–००१ ज १४२१ नम्बरको हाइसले सुपप्र ०१–१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीय तथा मृतकका आफन्तहरूले क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवतजावत पूर्ण रूपमा ठप्प भएको छ भने सयौं सवारी साधन बीचमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटनापछि स्थिति नियन्त्रणमा लिन र राजमार्ग खुलाउन प्रयास भइरहेको छ।

दुर्घटनामा संलग्न हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। यस घटनाले पुनः पूर्व–पश्चिम राजमार्गको सुरक्षाबारे प्रश्न उठाएको छ भने स्थानीयले सडक सुरक्षामा थप कडाइ गर्न माग गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.