आज आमाको मुख हेर्ने दिन : आमाप्रति सम्मान प्रकट गरिँदै

धनगढी  : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर जन्मदाता आमालाई सम्मान गरी मनाइँदैछ । आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गर्दै मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद ग्रहण गर्ने शास्त्रीय परम्परा छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमालाई उच्च स्थानमा राखिएको छ । सन्तानहरूले आज बिहानै नुहाइधुवाइ गरी आफ्नी आमालाई नयाँ वस्त्र लगाइदिने र तागतिला एवं स्वादिला पकवान खुवाएर खुसी बनाउने गर्छन् । आमा नभएकाले भने आमाको स्मरणमा तर्पण र पिण्ड दान गर्नुका साथै पुरोहितलाई सिदा दान गरी दिवङ्गत आत्माको शान्तिको कामना गर्ने गर्छन् ।

वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी व्याख्या गरिएको छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने शास्त्रीय मान्यता छ ।

आजको दिन दिवङ्गत आमाहरूले सन्तानबाट तर्पण र पिण्डको आश गर्ने धार्मिक विश्वास छ ।  मातृविहीनहरूले मातातीर्थ कुण्डमा स्नान गरी तर्पण दिने र आमाको सम्झना गर्ने गर्दछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.