अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान र पठनपाठनको समयतालिका सार्वजनिक गरेको छ । नगरपालिकाको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वैशाख महिनाको पहिलो हप्ताबाटै शैक्षिक गतिविधिहरू सुरु हुने भएका हुन् ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार, शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान आगामी वैशाख ७ गतेदेखि सुरु हुनेछ । भर्ना अभियानलाई प्रभावकारी बनाउँदै विद्यालय उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य नगरपालिकाले राखेको छ ।
त्यसैगरी, भर्ना प्रक्रियासँगै नियमित पठनपाठन भने वैशाख १५ गतेदेखि सुरु हुने निर्णय गरिएको छ । नगर प्रमुख वीरेन्द्र भट्टद्वारा हस्ताक्षरित सूचनामा नगरभित्रका सबै विद्यालयहरूलाई सोही निर्णय बमोजिम कार्यन्वयन गर्न निर्देशन दिइएको छ ।
नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयहरूलाई आवश्यक तयारी पूरा गर्न र विद्यार्थीहरूलाई समयमै विद्यालय पठाउने वातावरण सिर्जना गर्न अभिभावकहरूलाई समेत नगरपालिकाले आग्रह गरेको छ ।