सुदूरपश्चिम प्रदेशको विकासका लागि सांसद चन्द र खनाल सक्रिय

धनगढी  : कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य डा. आनन्दबहादुर चन्द र क्षेत्र नं. २ का सांसद केपी खनालले समग्र सुदूरपश्चिम प्रदेशको समुन्नत विकासका लागि बहुआयामिक पहललाई तीव्रता दिएका छन् । दुवै सांसदले संयुक्त रूपमा सार्वजनिक गरेको जानकारी अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, सडक तथा खेलकुद पूर्वाधारका समस्याहरू समाधान गर्न सरोकारवाला निकायसँग निरन्तर समन्वय र दबाब सिर्जना गर्दै आएका छन् ।

गेटास्थित शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालय सञ्चालनको प्रक्रिया सकारात्मक दिशामा अघि बढेको जनाइएको छ । यसलाई सुदूरपश्चिमकै ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ । यस्तै, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति अन्तर्गत नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ भने लिफ्ट जडानका कारण देखिएको ढिलाइ छिट्टै समाधान हुने जनाएको छ ।

चिकित्सक अभाव र उपकरण व्यवस्थापन सुधार गर्न पनि पहल जारी रहेको सांसदद्वयले बताएका छन् । लामो समयदेखि अलपत्र रहेको बेहडाबाबा जाने शिवगंगा नदीको पुल निर्माणका लागि पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया सुरु गरिएको छ ।
२५ घर कोइलही ताल सडकमा भएको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्दै ठेकेदारलाई कडा निर्देशन दिइएको जनाइएको छ । फूलबारी खानेपानी आयोजनाअन्तर्गत वडा नं. १९ मा काम अन्तिम चरणमा पुगेको र वैशाख २० भित्र पानी वितरण सुरु गर्ने लक्ष्य राखिएको छ भने वडा नं. १४ र अन्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि निरन्तर पहल भइरहेको छ ।

वडा नं. १३ मा खानेपानी ट्यांकी निर्माण सुरु भइसकेको छ भने खुटिया सिँचाइ आयोजनाको प्राविधिक निरीक्षण सम्पन्न भई चालु आर्थिक वर्षमै बजेट विनियोजनको प्रक्रिया अघि बढिरहेको छ । सडक पूर्वाधार विकास अन्तर्गत विभिन्न स्थानमा निर्माण तथा स्तरोन्नतिको काम जारी रहेको र आगामी वर्ष उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि संघीय बजेटसँगै अन्तर्राष्ट्रिय लगानीको विकल्पमा समेत छलफल भइरहेको छ ।

त्यसैगरी, सिकेल सेल एनिमिया नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रभावकारी कार्यक्रममार्फत सकारात्मक परिणाम ल्याउने लक्ष्य लिइएको छ । सांसदद्वयले यी सबै प्रयासलाई साझा अभियानका रूपमा उल्लेख गर्दै सुदूरपश्चिमको विकासका लागि जनसहभागिता, सुझाव र सहकार्य आवश्यक रहेको बताएका छन् । साथै जनविश्वासलाई सम्मान गर्दै अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.