अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह र व्यवस्थापन सुधारका लागि हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्ने घोषणा गरेका छन्।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका भट्टले आइतबार सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले अस्पतालको आकस्मिक कक्षसँगै जोडिएको शौचालयलगायत विभिन्न स्थानको निरीक्षण गर्दै सरसफाइ र सेवा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन अस्पताल प्रशासनलाई निर्देशन दिए।
मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री थापाले अस्पतालमा उपचाररत बिरामीहरूसँग प्रत्यक्ष भेटेर उनीहरूका समस्या र गुनासा समेत सुने। बिरामीहरूले उपचारका क्रममा भोग्नुपरेका समस्या तथा अस्पतालबाट प्राप्त भइरहेको सेवाबारे मुख्यमन्त्रीसमक्ष जानकारी गराएका थिए।
अनुगमनपछि मुख्यमन्त्री भट्टले प्रदेश सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेर काम गर्ने संकेत गरेका छन्। प्रदेशकै सबैभन्दा बढी बिरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ।
अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि बिरामीको चाप त्यसको क्षमताभन्दा निकै बढी हुने गरेको छ। सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरी जनशक्ति व्यवस्थापन गरिएको छ।
तर, पर्याप्त जनशक्ति, भौतिक पूर्वाधार तथा अन्य आवश्यक स्रोतसाधनको अभावका कारण अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा लिन समस्या भइरहेको गुनासो बिरामीहरूले गर्दै आएका छन्।
मुख्यमन्त्री भट्टको नियमित अनुगमनको घोषणाले अस्पतालको सेवा सुधार, सरसफाइ, जनशक्ति व्यवस्थापन र बिरामीमैत्री वातावरण निर्माणमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।