तिहारको मुखमा बाजुराको काँडा गाउँ अन्धकारमा, एक सातादेखि विद्युत् अवरुद्ध
जेनेरेटरको तार जल्दा ६ सयभन्दा बढी घरधुरी प्रभावित, राष्ट्रिय प्रसारण लाइन विस्तारको काम पनि अलपत्र
अत्तरिया :ः तिहार नजिकिँदै गर्दा गाउँ झिलिमिली हुनुपर्ने हो । तर, बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडाका बासिन्दा भने एक सातादेखि अन्धकारमा रात बिताउन बाध्य छन् । तिहारको उल्लास छाउने बेला गाउँमा विद्युत् अवरुद्ध हुँदा स्थानीयको दैनिकी नै प्रभावित बनेको छ ।
स्थानीयस्तरमा सञ्चालित काँडा लघु जलविद्युत् आयोजनाको जेनेरेटरको तारमा आगलागी भएपछि साविकको काँडा गाविसका सबै बस्ती विद्युत् सेवाबाट वञ्चित भएका हुन् । विद्युत् अवरुद्ध हुँदा यस वडाका ६ सयभन्दा बढी घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।
विद्युत् नहुँदा साँझ र रातको समयमा उज्यालोको समस्या मात्र होइन, मोबाइल फोन चार्ज गर्नसमेत स्थानीयलाई कठिनाइ भएको छ । मोबाइल चार्ज गर्न नपाउँदा आफन्त तथा अन्य व्यक्तिसँग सम्पर्क गर्नसमेत समस्या भइरहेको स्थानीयको गुनासो छ ।
विद्युत् नियमित भएपछि वैकल्पिक उज्यालोका साधनको व्यवस्था गर्न छाडेका स्थानीय अहिले झन् समस्यामा परेका छन् । विगतमा विद्युत् नहुँदा घर–घरमा टर्च, टुकीलगायतका उज्यालोका साधन राख्ने गरिए पनि विद्युत् सुविधा उपलब्ध भएपछि ती सामग्री प्रयोगविहीन भएका थिए । अहिले अचानक विद्युत् अवरुद्ध हुँदा तत्काल वैकल्पिक व्यवस्था गर्न नसकिएको स्थानीय बताउँछन् ।
काँडा बाहुनगाउँका स्थानीय चित्रराज जोशीका अनुसार दिउँसो जसोतसो समय बिते पनि रात परेपछि गाउँलेको जनजीवन कष्टकर बन्ने गरेको छ । तिहारको मुखमै विद्युत् अवरुद्ध हुँदा गाउँ आएका आफन्त र बाहिर पढाइ तथा रोजगारीका सिलसिलामा रहेका व्यक्तिहरूलाई समेत समस्या भएको उनले सुनाए ।
‘तिहारमा टाढाटाढाबाट आफन्तहरू गाउँ आएका हुन्छन् । तर, गाउँमा उज्यालो छैन । विद्युत् नहुँदा निकै समस्या भएको छ । यस्तो अवस्थामा सरकारले हाम्रो समस्याप्रति चासो नदिएको अनुभूति हुन्छ,’ जोशीले गुनासो गरे ।
स्थानीय बासिन्दाले घरदेखि गाईवस्तु बाँध्ने गोठसम्म विद्युत् प्रयोग गर्दै आएका थिए । लामो समयसम्म सेवा अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित हुनुका साथै रातको समयमा थप असहजता भएको उनीहरूको भनाइ छ । विद्युत् पुनः सञ्चालनका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदेखाएको स्थानीयको आरोप छ ।
राष्ट्रिय प्रसारण लाइनको आशा पनि अधुरै
स्थानीयलाई तत्काल विद्युत् अभावले सताइरहेका बेला दीर्घकालीन समाधानका रूपमा हेरिएको राष्ट्रिय प्रसारण लाइन विस्तारको कामसमेत अलपत्र परेको छ । खप्तड छेडेदह गाउँपालिका–१ काँडामा हालसम्म राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन ।
लाइन विस्तारका लागि केही स्थानमा खाल्डा खनेर छाडिएको छ भने कतिपय ठाउँमा पोल गाडिए पनि थप काम अघि बढ्न सकेको छैन । ढुँवानी गरेका पोल र तारहरु यत्रतत्र फालिएका छन् । स्थानीयका अनुसार गत जेठमा खाल्डा खन्ने काम भएयता ठेकेदार सम्पर्कविहीन छन् ।
स्थानीय रम रोकायले प्रसारण लाइन विस्तारको काम लामो समयदेखि रोकिएको बताए । ‘जेठमा खाल्डा खन्ने काम भएको हो । त्यसपछि ठेकेदार नै सम्पर्कमा छैनन्,’ उनले भने । काममा खटिएका मजदुरले समेत ज्याला नपाएको उनको गुनासो छ ।
राष्ट्रिय प्रसारण लाइन विस्तारको काम समयमै सम्पन्न नहुँदा स्थानीय अझै पनि जोखिम र अनिश्चितताबीच सञ्चालन भइरहेको लघु जलविद्युत् आयोजनामै निर्भर रहनुपर्ने अवस्था छ । अहिले लघु जलविद्युत् अवरुद्ध हुँदा गाउँ नै अन्धकारमा बस्नुपर्ने अवस्था आएको छ ।
वडाको असहायता, समितिको तिहारअघि विद्युत् बाल्ने दाबी
विद्युत् समस्या समाधानका विषयमा खप्तड छेडेदह गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रावलले भने आफूले केही गर्न नसक्ने बताएका छन् । विद्युत् आयोजना समिति मार्फत सञ्चालन भइरहेको भन्दै उनले यसको व्यवस्थापनमा आफ्नो प्रत्यक्ष भूमिका नरहेको बताए । विद्युत् व्यवस्थापन व्यवस्थित गर्न आयोजना वडालाई हस्तान्तरण गर्न माग गरे पनि हस्तान्तरण हुन नसकेको उनको भनाइ छ ।
यता विद्युत् सञ्चालक समितिका अध्यक्ष जहरी रावलले भने जतिसक्दो छिटो विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको दाबी गरेका छन् । उनका अनुसार जेनेरेटरको तार जलेपछि आवश्यक सामग्रीको नमुना धनगढी पठाइएको छ ।
‘जेनेरेटरको तार जलेको छ । त्यसका लागि नमुना धनगढी पठाएका छौँ । सकेसम्म तिहारअघि नै विद्युत् बाल्ने प्रयासमा छौँ,’ उनले भने । दुर्गम क्षेत्रमा आवश्यक सामग्री भनेको समयमा उपलब्ध नहुँदा मर्मतमा केही ढिलाइ भएको उनको भनाइ छ । विद्युत् अवरुद्ध हुँदा आफू पनि
सेवाग्राहीकै रूपमा प्रभावित भएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि प्रयास भइरहेको बताए । ‘विद्युत् सबैलाई चाहिएको छ । म पनि सेवाग्राही हुँ,’ उनले भने । एकातिर जेनेरेटरको सामान्य प्राविधिक समस्याका कारण सयौँ घरधुरी अन्धकारमा बस्न बाध्य छन् भने अर्कोतिर राष्ट्रिय प्रसारण लाइन विस्तारको कामसमेत अनिश्चित बनेको छ ।
तत्काल लघु जलविद्युत् मर्मत गरी सेवा सञ्चालन गर्न र दीर्घकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम अघि बढाउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् । तिहारको मुखमा गाउँ अन्धकारमा रहँदा स्थानीयको एउटै प्रश्न छ– आखिर दुर्गमका नागरिकले भरपर्दो विद्युत् सेवाका लागि अझै कति समय कुर्नुपर्ने ?