अछाम : अछाममा सुस्त मनस्थितिकी ३० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल अछाममा मिस्त्री काम गर्दै आएका ५८ वर्षीय राजन फुयाँल शर्मा रहेका छन्। अछाम प्रहरीका अनुसार हुलियाका आधारमा खोजतलास गर्दै जाँदा उनलाई सोमबार मंगलसेन नगरपालिका–५ बाट पक्राउ गरिएको हो।
गाउँमा पीडित युवती गर्भवती भएको हल्ला फैलिएपछि गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणका क्रममा युवती सात हप्ताको गर्भवती रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट गएको फागुन १६ गते शर्माले जबर्जस्ती करणी गरेको खुल्न आएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमप्रकाश खनालले जानकारी दिएका छन्। पीडितका आफन्तबाट जाहेरी दरखास्त लिइसकिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। निर्माणाधीन विद्यालय भवनमा काम गर्ने क्रममा आरोपीले उक्त अपराध गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।