धनगढी : कैलालीको बड्का बनुवाँ (वसन्ता कोरिडोर) मा दुर्लभ राजगोमन (किङ कोब्रा) देखा परेको छ । कैलारी गाउँपालिका र भजनी नगरपालिकाको सिमाना क्षेत्रमा एक जोडी राजगोमन सर्प देखिएको हो । विपतपुर र हिम्मतपुर गाउँको बिच क्षेत्रमा पर्ने जङ्गलमा हुलाकी राजमार्गको किनारमा सोमबार दुई राजगोमन देखिएको प्रत्यक्षदर्शी रमित ओलीले जानकारी दियो । अत्यन्त विषालु राजगोमन सर्प कैलालीमा कम पाइन्छन् ।
सर्प संरक्षण एवं उद्धारकर्ता लक्ष्मण उपाध्यायले अहिले सर्पको प्रजनन् सिजन रहेकाले दुई वटा राजगोमन सर्पसँगै देखा परेको बताए । सर्प उद्धारकर्ताहरूका अनुसार राजगोमन सर्पले लखेटेर मान्छेलाई टोक्ने कार्य गर्दैन । तर समातेमा भने टोक्ने गर्दछ । खास गरेर सर्प उद्धारकर्तालाई नै यो सर्पले टोक्ने जोखिम रहने गरेको जनाइएको छ ।
यो प्रजातिको सर्पले टोकेर विष फालेमा उपचारबाट पनि बचाउन मुस्किल हुने गरेको बताइन्छ । विषालु अन्य सर्पलाई खाएर मान्छेलाई विषालु सर्पबाट जोगाउने राजगोमनले जङ्गलमा झारपातको गुँड बनाएर अन्डा दिने गर्छ ।