धनगढीमा नेपाल वितरक महासंघको १४ औं वार्षिक साधारण सभा हुँदै

धनगढी, १० वैशाख : नेपाल वितरक महासंघ को १४ औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी मा वैशाख भोली शुक्रबार र पर्सी १२ गते शनिबार आयोजना हुने भएको छ ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष दुर्गा गौतमले सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मिया ले गर्नेछन् ।

आन्तरिक पर्यटन प्रवद्र्धन र देशभरका वितरकबीच आपसी एकता सुदृढ बनाउने उद्देश्यसहित धनगढीमा सभा आयोजना गरिएको अध्यक्ष गौतमले बताए । २०६६ सालमा स्थापना भएको महासंघ एफएमसीजी (दैनिक उपभोग्य वस्तु) वितरण गर्ने जिल्ला–स्तरीय संघहरूको छाता संगठनका रूपमा कार्यरत छ । हाल महासंघ ४५ जिल्लामा विस्तार भइसकेको छ ।

अध्यक्ष गौतमले विगतका विपद्का समयमा महासंघले निर्वाह गरेको भूमिकासमेत स्मरण गरे । २०७२ सालको महाभूकम्प, कोभिड–१९ महामारी तथा जाजरकोट भूकम्प २०८० का बेला जोखिम मोलेर आवश्यक वस्तुको आपूर्ति निरन्तर राखिएको उनले बताए । “हामी नाफामुखी मात्र होइन, जिम्मेवारी वहन गर्ने आपूर्ति व्यवस्थापनको पुल हौं,” उनले भने ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा ढुवानी लागत महँगिएको र हरेक पसलसम्म सामान पु¥याउन चुनौती थपिएको अध्यक्ष गौतमले जानकारी दिए । साधारण सभामा देशभरका ४५ जिल्लाबाट ३०० भन्दा बढी वितरक प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा महासंघका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक मदनराज न्यौपाने, निवर्तमान अध्यक्ष हरी राज पन्त लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.