धनगढी : धनगढीमा प्राविधिक शिक्षा र तालिममा सार्वजनिक–निजी साझेदारीबारे कार्यशाला सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालित क्वालिटी परियोजनाले शुक्रबार धनगढीमा सरोकारवालाबीच अन्तरक्रिया तथा छलफल आयोजना गरेको हो।
कार्यशालामा विशेषगरी प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षालयका प्रतिनिधि र विभिन्न उद्योगसँग आबद्ध संस्थाका प्रतिनिधिहरू सहभागी थिए। छलफलका क्रममा उद्योग र प्राविधिक शिक्षालयबीच प्रभावकारी समन्वय कसरी गर्ने, प्राविधिक शिक्षा हासिल गरेका जनशक्तिलाई स्थानीय उद्योगमै रोजगारीका अवसर कसरी सिर्जना गर्ने भन्ने विषयमा केन्द्रित बहस भएको थियो।
कार्यक्रममा क्वालिटी परियोजनाका डा। कुश्माकर भट्टले कार्यपत्र प्रस्तुत गर्दै प्राविधिक शिक्षालाई बजारको मागसँग जोड्न आवश्यक रहेको औँल्याए ।
सामाजिक विकास मन्त्रालयका उपसचिव लोकेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिटिइभिटीका सुदूरपश्चिम उपनिर्देशक देवसिंह धामी, विभिन्न विद्यालयका अध्यक्ष तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन क्वालिटी परियोजनाका प्राविधिक संयोजक टंकप्रसाद उपाध्यायले गरेका थिए ।