अत्तरिया बजारमा बजार अनुगमन, अखाद्य सामग्री जफत गरी नष्ट

अत्तरिया : कैलालीको अत्तरिया बजार क्षेत्रमा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । गोदावरी नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको सहकार्यमा आइतबारदेखि औपचारिक रूपमा अनुगमन अभियान सुरु गरेको हो ।

नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा गरिएको अनुगमन टोलीले अत्तरिया बजारका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा छड्के जाँच गरेको थियो । अनुगमनका क्रममा म्याद नाघेका तथा मानव स्वास्थ्यका लागि हानिकारक ठहरिएका विभिन्न वस्तुहरू फेला परेपछि तत्काल जफत गरिएको नगरपालिकाले जनाएको छ ।

उपप्रमुख रोकायाले उपभोक्ता अधिकार संरक्षण ऐन अनुसार नगरपालिकाले नियमित रूपमा अनुगमन गर्दै आएको बताउँदै यो अभियानलाई अझ सशक्त बनाइने जानकारी दिइन् । उनका अनुसार अनुगमन केवल अत्तरिया बजारमा मात्र सीमित नरहेर स्याउले, गेटा लगायतका अन्य बजार क्षेत्रमा पनि क्रमशः विस्तार गरिनेछ ।

उनले बजारका पसलहरूमा खाद्य वस्तुको गुणस्तर मात्र नभई व्यवसाय दर्ता, नवीकरण तथा कानुनी मापदण्डको अवस्था पनि सूक्ष्म रूपमा जाँच गरिएको उल्लेख गरिन् । साथै, मुख्य बजारसँगै भित्रि गल्ली तथा टोलमा रहेका साना पसलहरूलाई पनि अनुगमनको दायरामा ल्याइने बताइन् ।

आइतबार मात्र गरिएको अनुगमनका क्रममा ३८ वटा पसलहरूमा जाँच गरिएको हो । सो क्रममा करिब ७० हजार १८० रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य सामग्रीहरू फेला परेको आर्थिक विकास शाखाका अधिकृत लोक बहादुर खड्काले जानकारी दिए । उनका अनुसार पछिल्ला वर्षहरूको तुलनामा व्यवसायीहरूमा केही सुधार देखिए पनि अझै कडाइ आवश्यक रहेको छ ।

जफत गरिएका सबै सामग्रीहरू नगरपालिकाको वडा नं. ३ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर सुरक्षित रूपमा नष्ट गरिएको हो । नगरपालिकाले यस्तो अनुगमनलाई निरन्तरता दिने र उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राख्ने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.