धनगढी : कैलालीको चुरे गाउँपालिका–२ खैराला क्षेत्रमा एक पुरुष परस्त्रीको घरभित्रै रंगेहात फेला परेको घटना सार्वजनिक भएको छ । उक्त घटना बिहीबार राति भएको जनाएको छ । स्रोतका अनुसार महरा थरका एक पुरुष सोही वडाकी साउँद थरकी एक विवाहित महिलाको घरमा प्रवेश गरेका थिए ।
शंकास्पद गतिविधि देखेपछि स्थानीयवासीहरू घरभित्रै पुगेका थिए र उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएपछि स्थानीयहरूले ती पुरुषलाई रातभर बाँधेर राखेको जनाइएको छ ।
प्रारम्भिक जानकारी अनुसार ती पुरुष र महिला बीच सामाजिक सञ्जालमार्फत चिनजान भएको र त्यसपछि सम्बन्ध विस्तार भएको बुझिएको छ
। उनीहरूबीच लामो समयदेखि नियमित सम्पर्क तथा भेटघाट हुँदै आएको समेत खुलेको छ । उल्लेखनीय कुरा के भने दुवै जना विवाहित रहेको तथ्य पनि बाहिरिएको छ ।
घटनापछि गाउँमा तनाव सिर्जना हुन सक्ने अवस्था देखिएपछि स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा दुवै पक्षबीच छलफल गरिएको थियो । चुरे गाउँपालिका–२ का वडाध्यक्ष केशव साउदका अनुसार छलफलका क्रममा दुवै पक्षले आफ्नो गल्ती स्वीकार गरेका थिए । उनीहरूले भविष्यमा यस्ता गतिविधि दोहोर्याउने छैनौँ भन्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त सहमतिपछि दुवै जनालाई आपसी समझदारीका आधारमा परिवारको जिम्मा लगाइएको वडाध्यक्ष साउदले जानकारी दिए । साथै, महरा थरका ती पुरुष सशस्त्र प्रहरी बलका सहायक हवल्दार रहेको तथ्य पनि खुलेको छ । यस घटनाले स्थानीय स्तरमा सामाजिक तथा नैतिक विषयमा व्यापक चर्चा सुरु भएको छ भने सामाजिक सञ्जालको प्रयोग र त्यसबाट उत्पन्न हुने सम्बन्धहरूबारे पनि प्रश्न उठ्न थालेका छन् ।