धनगढी : चिसापानी–राजकाँडा केबलकारको काम धमाधम भइरहेको छ । जाल्पादेवी केबलकार निर्माण कम्पनीले निर्माण गरिरहेको हो । सुदूरपश्चिम प्रदेशको पहिलो केबलकार रहेको जनाइएको छ । २०८२ साल पुसदेखि सुरु भएको केबलकारको बेसको काम सकिएर पिलर राख्नेकाम भइरहेको छ । १४ वटा पिलर र ३४ वटा गोन्दुला फिट गर्नुपर्नेमा अहिले ३ वटा पिलर लगाउने काम सकिएको छ ।
केबलकार सञ्चालक सूर्यबहादुर थापाले असारसम्म नभए दशैं सम्ममा केबलकार सञ्चालनमा आउने दावी गरेका छन । उनले वैशाखमा सञ्चालनमा ल्याउने पूर्व तयारी भए पनि आफू बिरामी भएर चार महिना भारतमा औषधी उपचारमा बस्नु परेको र चुनावका कारण दुई महिना ढिला हुन गएको बताए । “केबलकारको बेसको काम सकिए र पिलर फिट गर्ने काम भइरहेको छ । इटलीबाट सामानसँगै निर्माण कम्पनीले प्राविधिक पठाएको छ । उहाँहरूको टिमले काम गरिरहनु भएको छ । रोपवेको सहायताले पिलर फिट हुदैँछ”, उनले भने ।
राजकाँडामा केबलकारसँगै मालिका मन्दिर निर्माण, चमेना गृह, टिकट घर, बाटो निर्माण लगायत काम पनि धमाधम भइरहेको छ । धेरै ठेकेदारले काम लिएकाले पनि काम फटाफट भएको हो ।
सञ्चालक थापाले आठ जना ठेकेदारले अलग–अलग कामको ठेक्का लिइ काम गरेको जानकारी दिनुभयो । मालिकादेवी मन्दिर निर्माणको लगभग पचास प्रतिशत काम सकिएको छ । मन्दिर जाने बाटोमा ढुङ्गाको छपनी लगाएर आकर्षक बाटो निर्माण भइरहेको छ ।
जाल्पादेवी केबलकार कम्पनीले २० विघा जमिन केबलकार सञ्चालनका लागि आफ्नो नाममा लिइ उक्त क्षेत्रका रुख कटान प्रक्रिया पूरागरी केबलकारको काम सुरु गरेको हो ।
आइएमी समूहका अध्यक्ष एवम् नेपाल उधोग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको ७५ प्रतिशत लगानी तथा कैलाली लम्कीका व्यवसायी सूर्यबहादुर थापाको २५ प्रतिशत लगानीमा केबलकारको काम अगाडि बढेको हो ।
सञ्चालक थापाले सुदूरपश्चिमको पहिलोे केबलकारको रूपमा जाल्पादेवी केबलकार रहेको जनाउँदै यसको लम्बाई ३१ मिटर लामो रहेको बताए । पाँच अर्ब लागतमा केबलकार निर्माणले पूर्णता पाउने भएको हो । व्यवसायी थापाले अनुमानित लागत रकम बढ्न पनि सक्ने बताए ।
केबलकारको टप र बटम स्टेसनमा आवश्यक भौतिक संरचना निर्माणको काम भइरहेको छ । केबलकार सञ्चालनले मोहन्याल गाउँपालिका–७ मा रहेको ऐतिहासिक धुलिकोट दरबारसँग जोडिएका महत्वपूर्ण कुराहरूको अवलोकन र प्रचार प्रसारमा सहयोग पुग्नुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।
२०८२ साल वैशाखमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले केबलकारको शिलान्यास गरेकी थिइन । मालिका मन्दिर निर्माण सम्पन्न भएपछि भारत सरकार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा उद्घाटन गराउने तयारी रहेको समेत जनाइएको छ ।