काठमाडौँ : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको गैर कानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल फाइल झिकाउने आदेश गरेको छ।
बिहीबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिसिल फाइल झिकाउने आदेश दिएको छ।
यसअघि विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारका अनुसार सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ठुलो परिमाणको सम्पत्ति आर्जन गरेका छन् ।
आयोगको अनुसन्धानबाट सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता लगायतबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी रहेको देखिएको छ। तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी, चुनाव खर्चलगायत शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको अख्तियारको दाबी छ ।
कुल आय र व्यय तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा स्रोत नखुलेको रकम रहेको आयोगको निष्कर्ष छ। आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।