सांसद कोइराला आफ्नो निर्वाचन क्षेत्रका समस्या बुझ्दै समाधानका पहल गर्ने प्रतिबद्धता गर्दै

अत्तरिया  : अत्तरियामा आयोजित सृजनशिल यूवा क्लवले गरेको स्वागत् कार्यक्रममा प्रतिनिधि सभा सदस्य खेमराज कोइरालाले आफू निर्वाचित भएपछि विभिन्न क्षेत्रमा जनताको समस्या बुझ्दै आएको र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार क्लबको कार्यालय पुगेका सांसद कोइरालाले सुकुम्बासी बस्तीका विषयमा फैलिएका भ्रमप्रति ध्यानाकर्षण गराउँदै अनावश्यक रूपमा चिन्तित वा आक्रामक हुनुपर्ने अवस्था नरहेको बताए । उनले सुकुम्बासीका घरहरू भत्काउने हल्ला सत्य नभएको स्पष्ट पार्दै काठमाडौंको सन्दर्भ र अन्य बस्तीहरूको अवस्था फरक रहेको उल्लेख गरे । उक्त विषयमा हालको निर्णय नभई पहिलेबाटै भएको निर्णयलाई अहिलेको सरकारले व्यवस्थित रूपमा कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।

सांसद कोइरालाले वर्षौँदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउने उद्देश्य नरहेको स्पष्ट पार्दै कैलाली, कञ्चनपुर, बाँके र बर्दिया लगायतका जिल्लामा रहेका कमैया शिविरहरूको वास्तविक पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिए। यसका लागि केन्द्र सरकारसमक्ष आवश्यक जानकारी गराइएको पनि उनले बताए ।

यस्तै, उनले क्षेत्रको खेलमैदान तथा खुलामञ्च निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । क्लबहरूले खेलकुदमार्फत युवालाई अनुशासित बनाउने, दुव्र्यसनबाट जोगाउने तथा उनीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता गतिविधिलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.