अत्तरिया खानेपानी निर्वाचन : राजेन्द्र खड्का प्यानलद्वारा १२ बुँदे प्रतिबद्धता सार्वजनिक

अत्तरिया  : अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वैशाख २६ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार राजेन्द्र खड्का नेतृत्वको प्यानलले १२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा पारदर्शिता, उत्तरदायित्व र गुणस्तरीय सेवा मार्फत अत्तरिया खानेपानीमा नयाँ परिवर्तन ल्याउने प्रतिबद्धता जनाइएको छ।

प्यानलले सार्वजनिक गरेको प्रतिबद्धता अनुसार २४ सै घण्टा स्वच्छ खानेपानी वितरण, न्यूनतम महसुल कायम, तथा दीर्घकालीन समाधानसहित प्राकृतिक स्रोतको पहिचान गरी बजेट व्यवस्थापन गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी, पानीको गुणस्तर सुनिश्चित गर्न पानी विज्ञ वा रसायनशास्त्रीको व्यवस्था गरी नियमित परीक्षण र त्यसको डिजिटल जानकारी उपभोक्तालाई उपलब्ध गराउने उल्लेख गरिएको छ। पूर्वाधार विस्तारअन्तर्गत सडकका दुवै किनारामा पाइपलाइन विस्तार गर्ने योजना पनि समावेश गरिएको छ।
आर्थिक पारदर्शितालाई प्राथमिकता दिँदै मासिक विवरण वेबपेजमार्फत सार्वजनिक गर्ने, संस्थाको छुट्टै वेबसाइट निर्माण गर्ने तथा सेवा प्रवाहलाई उपभोक्तामुखी र जवाफदेही बनाउने प्रतिबद्धता जनाइएको छ।

प्यानलले २४ सै घण्टा गुनासो सुन्न टोल(फ्री नम्बर सञ्चालन गर्ने, निःशुल्क मर्मत सेवा प्रदान गर्ने र गुनासो दर्ता भएको २४ घण्टाभित्र समाधान गर्ने लक्ष्य राखेको छ। त्यस्तै, निर्वाचित भएको अधिकतम ६ महिनाभित्र प्याकेजिङ्ग पानी प्लान्ट स्थापना गरी स्वच्छ र सस्तो दरमा पानी उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी सिर्जना गर्ने योजना पनि अघि सारिएको छ।

खरिद प्रक्रियालाई पारदर्शी बनाउन छुट्टै खरिद समिति गठन गर्ने, ठूला खरिदमा ई–बिडिङ र साना खरिदमा स्थानीय बजारबाट प्रतिस्पर्धात्मक विधि अपनाउने उल्लेख गरिएको छ। राजेन्द्र खड्का प्यानलले आफ्नो प्रतिबद्धतामार्फत अत्तरिया खानेपानी संस्थालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने दाबी गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.