काठमान्डौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक परिषद्माथि नियन्त्रण राख्नका निम्ति प्रधानमन्त्री बालेन शाहले संसद् आह्वान र स्थगितको प्रपञ्च रचेको टिप्पणी गरेका छन् ।
सिंहदरबास्थित कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले बालेनलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण राख्नका निम्ति संसद् आह्वान गर्ने, संसद् बन्द गर्ने सबै प्रपञ्च रचिएको छ । अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभएको हो,’ सभापति थापाले भने, ‘त्यो बेला हामीले रोक्यौं । अहिले हामीले रोक्न सकेनौं । किनकी अध्यादेश बनेर गयो । अगाडिका प्रधनमन्त्रीले गरेको आफ्ना मान्छे ल्याउन चलाएको भन्दा के फरक हो यो ?’
सभापति थापाले नेकपा एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्वा हुँदा आफ्ना मान्छे नियुक्तिका लागि गरेको जालझेलजस्तै प्रधानमन्त्री बालनेले पनि जालझेल गरेको दाबी गरे । ‘योभन्दा अगाडिका प्रधानमन्त्रीले आफ्ना मान्छे नियुक्त गर्नका लागि पूरै जालझेल गर्नुभयो,’ उनले ओलीको नाम उल्लेख नगरी भने, ‘अहिलेका प्रधनमन्त्रीले पनि त्यही कुरा गर्नुभयो । जालझेल गर्दै हुनुहुन्छ ।’
सभापति थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै संसद्मा प्रश्न उठाउने पनि बताए । ‘यो आपत्तिजनक छ । यसमा नेपाली कांग्रेस पार्टीको प्रश्न छ, यसमा असहमति छ यो कुरा हामीले यहाँ राखेका छौं,’ उनले भने, ‘हाम्रा साथीहरूले यसलाई संसद्मा राख्नुहुन्छ ।’