धनगढी : आयोजक श्री युवा जनहित क्लब कैलालीको कैलारी गाउँपालिकामा भईरहेको ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को फाईनलमा प्रवेश गरेको छ ।
श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भईरहेको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा जित हात पार्दै आयोजक उपाधि नजिक पुगेको हो । कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको दोस्रो सेमिफाईनलमा आयोजक श्री युवा जनहित क्लबले भजनीको न्यु काली शक्ती युवा क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै फाईनलको यात्रा तय गरेको हो ।
यसअघि निर्धारित समयमा दुबै टोलीले पाँच पाँचको बराबरी खेलेका थिए । फाईनल पुगेको आयोजकलले अब उपाधिका लागि बर्दियाको नेम्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवद्र्धकका रूपमा रहेको छ । साथै विभिन्न संघसंस्था तथा निजी व्यावसायिक फर्महरूले समेत प्रायोजन तथा प्रवद्र्धनमा सहयोग गरेका छन् ।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएछन् ।