धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापा ले सुदूरपश्चिम प्रदेशमा तत्काल नेतृत्व परिवर्तन नहुने स्पष्ट संकेत दिएका छन्। धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ का क्रममा उनले प्रदेश सरकार, सांसद र पार्टी नेतृत्वसँग छुट्टाछुट्टै छलफल गर्दै अहिले सरकार परिवर्तनभन्दा बजेट र संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको बताएका हुन्।
सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सुदूरपश्चिम पुगेका थापासँग उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी पनि सहभागी थिए। भेलापछि थापाले मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेसबाट सरकारमा सहभागी मन्त्री, प्रदेश सभा सदस्य तथा नीति तथा योजना आयोगका पदाधिकारीसँग लामो छलफल गरेका थिए।
छलफलको सुरुवातमा नीति तथा योजना आयोगकी उपाध्यक्ष डा। जीवन राना ले सीमित बजेट सिलिङका कारण चुनौतीपूर्ण अवस्था रहेको बताउँदै आगामी आर्थिक वर्षको प्राथमिकताबारे जानकारी दिएकी थिइन्। त्यसपछि सांसदहरूले पालैपालो आफ्नो असन्तुष्टि राखेका थिए। सांसद दिवानसिंह विष्ट ले मुख्यमन्त्री शाहप्रति खुलेर गुनासो गर्दै उद्योग वाणिज्य संघको कार्यक्रममा आउने वाचा पूरा नगरेको, बेलौरी अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति नगरेको र सम्बन्ध नै टाढिएको अवस्था आएको बताएका थिए। उनले मुख्यमन्त्रीले गगन थापालाई सभापति नमान्ने आशयका सार्वजनिक अभिव्यक्तिप्रति पनि प्रश्न उठाएका थिए।
छलफलमा सांसदहरू गीता चौधरी, विक्रमसिंह धामी लगायतले मन्त्री नियुक्ति र बजेट वितरणमा असन्तुलन रहेको गुनासो गरेका थिए। थारू समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसमेत उठाइएको थियो। अधिकांश सांसदहरूले आफूहरूलाई पनि सरकारमा अवसर दिनुपर्ने धारणा राखेका थिए। साथै मन्त्री भएको क्षेत्रमा मात्रै बजेट केन्द्रित हुने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
सांसदहरूको असन्तुष्टिका बीच पनि अधिकांश प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री शाहलाई नै निरन्तरता दिनुपर्ने पक्षमा समर्थन जनाएका थिए। पछिल्लो समय शाहको विकल्प खोज्ने चर्चा चलिरहेका बेला भेलाले तत्काल नेतृत्व परिवर्तनको सम्भावना कमजोर बनाएको देखिएको छ।
छलफलपछि सभापति थापाले स्पष्ट शब्दमा भने, “अहिले सरकार परिवर्तनबारे निर्णय गर्ने अवस्था छैन। पछि एमालेसँग समग्र प्रदेशको विषयमा छलफल हुन सक्छ। त्यसबेला हुने निर्णय सबैले मान्नुपर्छ।” थापाको यो अभिव्यक्तिलाई सुदूरपश्चिममा कांग्रेस नेतृत्व परिवर्तन तत्काल नहुने स्पष्ट संकेतका रूपमा हेरिएको छ।
थापाले बजेटपछि प्रदेश राजनीतिमा नयाँ समीकरण बन्न सक्ने संकेत पनि दिएका छन्। उनले आवश्यक परे प्रतिपक्ष दलहरूसँग समेत सहकार्य गरेर साझा रणनीतिमा अघि बढ्न सकिने बताएका थिए। यसैबीच मुख्यमन्त्री शाहले आफूविरुद्ध समानुपातिक सांसदहरूलाई कारबाही गरेर बहुमत जुटाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएका थिए। तर भेलामा अधिकांश सांसदले उनलाई समर्थन गरेपछि कांग्रेसभित्र शाहको विकल्प तत्काल अघि आउने सम्भावना भने टरेको देखिएको छ।