सुदूरपश्चिमबाट कांग्रेसको १५ बुँदे ‘संकल्प’ : स्थानीय सरकारलाई नागरिकमैत्री, पारदर्शी र परिणाममुखी बनाउने घोषणा

धनगढी  : नेपाली कांग्रेस ले सुदूरपश्चिम प्रदेशस्तरीय भेलाबाट स्थानीय सरकार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने उद्देश्यसहित १५ बुँदे संकल्प सार्वजनिक गरेको छ।

दुई दिनसम्म चलेको प्रदेशस्तरीय भेलामा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी नेतृत्वबीच व्यापक छलफलपछि संकल्पपत्र जारी गरिएको हो। भेला धनगढीमा शनिबार र आईतबार गरी २ दिनसम्म सञ्चालन भएको हो ।

भेलाले स्थानीय सरकारलाई संविधानको मर्मअनुसार उत्तरदायी, जवाफदेही र सुशासनयुक्त बनाउने प्रतिबद्धता जनाएको छ। कांग्रेसले विशेषगरी बजेट निर्माणलाई तथ्यमा आधारित, यथार्थपरक र परिणाममुखी बनाउने, अनुत्पादक क्षेत्रमा लगानी नगर्ने तथा “शून्य बेरुजु” स्थानीय तह निर्माणमा जोड दिएको छ।

संकल्पपत्रमा स्थानीय सरकारबाट सेवा प्रवाहलाई सरल र सहज बनाउने, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला तथा विपन्न समुदायलाई घरआँगनमै सेवा दिने व्यवस्था प्रभावकारी बनाइने उल्लेख छ।

यस्तै, रोजगार बैंक, उद्यम विकास केन्द्र र उद्यम मेला सञ्चालनमार्फत रोजगारी तथा स्वरोजगार प्रवर्द्धन गर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाको सीपलाई उद्यमसँग जोड्ने “श्रमदेखि उद्यमसम्म” कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।

कांग्रेसले शिक्षा, स्वास्थ्य र खानेपानीलाई स्थानीय सरकारको मुख्य प्राथमिकतामा राख्दै स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने, सिकलसेल एनिमिया तथा थालसिमियापीडितका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ।

भेलाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि लगत संकलनदेखि जग्गा नापी र पुर्जा वितरणसम्म पहल गर्ने निर्णय गरेको छ। मुक्त हलिया, मुक्त कमैया र बादी समुदायको जीविकोपार्जनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने पनि संकल्पमा उल्लेख छ।

सामाजिक सुधारलाई समेत प्राथमिकतामा राख्दै घरेलु हिंसा, छुवाछुत, बालविवाह, छाउपडी, बोक्सी प्रथा तथा लागू पदार्थ दुव्र्यसन नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कांग्रेसको प्रतिबद्धता छ।

संकल्पपत्रमार्फत कांग्रेसले संघीयता कार्यान्वयनमा देखिएका कानुनी र प्रशासनिक समस्याप्रति संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढ्ने घोषणा गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.