रवि ओडले सम्बन्ध विच्छेद गर्न नपाउने

धनगढी । नेपाल आइडल सिजन–२ का विजेता, गायक रवि ओडको सम्बन्ध विच्छेदको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनको दाबी नपुग्ने फैसला सुनाएको छ । श्रीमतीसँग कानुनी रूपमा छुट्टिन पाउँ भन्दै ओडले दायर गरेको मुद्दामा अदालतले डिभोर्स नहुने ठहर गरेको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले सोमबार उक्त मुद्दाको अन्तिम सुनुवाइ गर्दै ओड र उनकी श्रीमतीबिचको सम्बन्ध विच्छेद नगर्ने फैसला गरेको छ ।

अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार, दुवै पक्षको बहस र प्रमाणका आधारमा अदालतले सम्बन्ध विच्छेद नहुने निर्णय लिएको हो । ‘अदालतले रविको माग बमोजिम सम्बन्ध विच्छेदको फैसला गरेको छैन, यद्यपि फैसलाको पूर्ण पाठ तयार हुन भने केही समय लाग्नेछ।’, उनले भने ।

सूचना अधिकारी चन्दका अनुसार विस्तृत फैसला पूर्ण पाठ तयार भई आउन करिब एक महिना लाग्न सक्छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी रवि ओडका लागि यो दोस्रो कानुनी झमेला थियो। यसअघि उनकी श्रीमतीले रवि विरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै २०८० चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा सुरुमा पाँच लाख रुपैयाँ धरौटीमा छुटेका ओडलाई २०८१ असारमा अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो। वैवाहिक बलात्कारको मुद्दा जिते पनि आफूहरू सँगै बस्न नसक्ने भन्दै रविले सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएका थिए । तर, यस पटकको अदालती फैसला भने उनको विपक्षमा आएको छ ।

नेपाल आइडल सिजन–२ को उपाधि जितेपछि नेपाली साङ्गीतिक आकाशमा चम्किएका ओड गायन र अभिनय दुवै क्षेत्रमा उत्तिकै सक्रिय छन् । उनका थुप्रै गीतहरू चर्चामा छन् भने दर्जनौँ म्युजिक भिडियोमा उनले आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन्। व्यक्तिगत जीवनका यी उतारचढावका बिच पनि उनको कलाकारिता यात्रा भने निरन्तर जारी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.