अत्तरिया चोकमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण सुरु

नगर प्रमुख विरेन्द्र भट्टद्वारा सिलान्यास, २०८३ पुससम्म निर्माण सम्पन्न हुने

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया चोकमा सुदूरपपश्चिम प्रदेशकै पहिलो आकाशे पुल निर्माण कार्य सुरु गरिएको छ। शनिबार नगर प्रमुख विरेन्द्र भट्टले निर्माण हुने आकाशे पुलको सिलान्यास गरेका हुन्।

सिलान्यास पछि बोल्दै नगर प्रमुख भट्टले अत्तरिया चोकमा दिनप्रतिदिन बढ्दै गएको सवारी चाप, पैदलयात्रीको सुरक्षा तथा सहज आवतजावतलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण कार्य अघि बढाइएको बताए। उनले नगर क्षेत्रमा तीव्र रूपमा बस्ती विकास हुँदै गएको र मानिसहरूको आवागमन बढ्दै गएकाले अत्तरिया बजार क्षेत्रमा यस्ता पूर्वाधारको आवश्यकता महसुस गरिएको उल्लेख गरे।
नगर प्रमुख भट्टले सडक पार गर्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै जनताको आवश्यकता अनुसार पुल निर्माण गर्न लागिएको बताए। साथै, उनले क्षेत्रको विकास निर्माणका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै सहयोगका लागि आग्रह गरे।

गोदावरी नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको उक्त पुलको लागत भ्याटसहित १ करोड ४२ लाख ८५ हजार ४ सय ९८ रुपैयाँ रहेको छ। पुल निर्माणको जिम्मा कृजल त्रिनेत्र सिद्धनाथ जेभी धनगढीले पाएको छ।

इन्जिनियर मोहित चन्दका अनुसार सुरुमा २०८२ फागुन १० गते सम्झौता भए पनि सडक डिभिजन कार्यालयबाट अनुमति प्राप्त गर्न ढिलाइ भएका कारण निर्माण कार्य प्रभावित भएको हो। अब सम्झौता अनुसार पुल निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गरिने जनाइएको छ। निर्माण हुन लागेको आकाशे पुल ५।६ मिटर अग्लो, २ मिटर चौडाइको पैदल मार्ग सहित ४५ मिटर लम्बाइको हुने निर्माण कम्पनीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.