धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । किसानलाई अनुदानमा पावर टिलर उपलब्ध गराइदिने भन्दै लाखौँ रुपैयाँ उठाएको मुद्दामा जिल्ला अदालत बर्दियाले चौधरीसँग १० लाख धरौटी माग गरेको थियो ।
जिल्ला अदालतका सूचना अधिकारी रोजिना आचार्यका अनुसार ३० वैशाखमा अदालतमा उपस्थित भएका चौधरीलाई सोही दिन १० लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिइएको थियो । ‘त्यस दिन धरौटी रकम बुझाउन नसक्दा पूर्वमन्त्री चौधरी कारागार चलान भएका थिए,’ उनले भनिन्, ‘दोस्रो दिन उनी धरौटी रकम बुझाएर तारेखमा छुटेका छन् ।’
नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यसमेत रहेका चौधरी सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।
प्रहरीका अनुसार ‘सुरो नेपाल’ नामक संस्थामार्फत बर्दियाका किसानलाई अनुदानमा पावर टिलरदिने भन्दै रकम संकलन गरिएको थियो । किसानहरूले संस्थाकी सञ्चालक सुशीला खड्काको खातामा ५७ लाख रुपैयाँ जम्मा गरेको तथा पूर्वमन्त्री चौधरीलाई थप १७ लाख रुपैयाँ दिएको आरोप लगाउँदै भदौमा गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएका थिए ।
यता, पूर्वमन्त्री चौधरीले भने किसानबाट रकम लिएको आरोपमा कुनै सत्यता नभएको बताए