अत्तरिया : मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
बुधबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपाली टोलीले १५ बल अगावै आठ विकेट गुमाएर भेट्टायो।
नेपालका लागि ओपनर सम्झना खड्काले ३२ र रुवि पोद्दारले १५ रन बनाइन्। कविता जोशी ६ र रिया शर्मा चार रनमा अविजित रहे।
सीता रानामगरले पाँच र कविता कुँवरले तीन रन बनाइन्। कप्तान इन्दु बर्मा र रुविना क्षेत्री समान एक रनमा क्याच आउट भए। विन्दु रावल र पूजा महतो शून्यै आउट भए।
मलेसियाका लागि नुर क्वायसाले तीन विकेट लिइन्। एल्सा हन्टर र आस्या लिसाले समान दुई विकेट लिए। नुर डानियाले एक विकेट लिइन्।
त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसिया १६।५ ओभरमा ६७ रन बनाउँदा अलआउट भयो।
मलेसियालाई कम स्कोरमा रोकन पूजा महतोले तीन विकेट लिइन्। उनले आफ्नो स्पेलमा १३ रन खर्चिइन्। मनिषा उपाध्यायले चार ओभरमा एक मेडन राख्दै १७ रन दिएर दुई विकेट लिइन्।
कविता कुवँरले तीन ओभरमा एक मेडन राख्लै १२ रन खर्चेर एक विकेट झारिन्। रिया शर्माले २।५ ओभरमा १३ रन दिएर दुई विकेट लिइन्।
सीता रानामगरले तीन ओभरमा एक मेडन राख्दै ११ रन खर्चेर एक विकेट आफ्नो नाममा गरिन्।
मलेसियाका लागि इल्सा हन्टरले १० रन बनाइन्। अन्य कुनै ब्याटरले दोहोरो अंकको छुन सकेनन्। मलेसिया रहेको नेपाली टोलीले दोस्रो खेल शुक्रबार खेल्नेछ।