धनगढी : बाजुरा र हुम्लाको सीमाक्षेत्रमा उत्पन्न भएको तनावपछि बाजुरा जिल्ला प्रशासन कार्यालयले उच्चस्तरीय छानबिनको माग गर्दै गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र सीमाक्षेत्रमा सुरक्षा मजबुत बनाउने निर्णय गरेको हो।
हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण सुरु गरिएपछि विवाद चर्किएको बताइएको छ। बाजुरा प्रशासनले प्रहरी पोस्ट स्थापना गर्न थालेपछि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले विरोध जनाउँदै बाजुराका स्थानीयवासी र आन्तरिक पर्यटकमाथि आक्रमण गरेको आरोप लगाइएको छ।
बैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयसँग उच्चस्तरीय समिति गठन गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार, “लाम्पाटामा प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको कुटपिट, लुटपाट तथा आक्रमणका घटनाको गम्भीर अध्ययन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सिफारिस गरिएको हो।”
मार्तडीमा बसेको बैठकमा राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीको सहभागिता रहेको थियो। हुम्ला पक्ष भने बैठकमा सहभागी भएको थिएन।
बैठकले सीमाक्षेत्रमा सुरक्षा उपस्थिति बढाउन सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय पनि गरेको छ। साइपाल हिमालको आधार शिविर रानीसैन क्षेत्रमा घुम्न गएका आन्तरिक पर्यटक र स्थानीय बासिन्दाको सुरक्षालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।
यस्तै, विवादको केन्द्र बनेको लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको काम तत्काल अघि बढाउने सहमति भएको छ। साथै, कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिका क्षेत्रको यातायात सञ्चालन अवरुद्ध हुन नदिन सबै पक्षसँग संवाद र समन्वय गर्ने निर्णय गरिएको छ।
गत मंगलबार रानीसैन क्षेत्रको सीमा विवादका क्रममा बाजुरा र हुम्लाका स्थानीयबीच झडप भएको थियो। घटनामा बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि आक्रमण हुँदा ६ जना घाइते भएका छन्। तीमध्ये गम्भीर अवस्थाका तीन जनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रशासनले जनाएको छ।
घटनाकै क्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको टोलीमाथि पनि आक्रमण प्रयास भएको बताइएको छ। स्थानीय युवाहरूले टोलीलाई चुची खोलासम्म लखेटेका थिए भने आवागमन रोक्न खोलामाथिको काठेपुल आंशिक रूपमा भत्काइएको जनाइएको छ।
केही व्यक्तिलाई बन्धक बनाइएको भन्ने विवरणसमेत सार्वजनिक भएपछि घटनाको थप अनुसन्धान गरिने प्रशासनले जनाएको छ। सर्वदलीय बैठकले बाजुरा र हुम्लाबीचको सामाजिक सद्भाव कायम राख्दै घटनामा संलग्न जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।