बाजुरा च्याचौर प्रहरी चौकी विवादबारे दुई मुख्यमन्त्रीबीच संवाद

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको हिमाली गाउँपालिका–३ च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकी भवनमा भएको अवरोधको विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल सँग टेलिफोन संवाद गरेका छन् ।

शुक्रबार भएको उक्त संवादमा मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०८२\०८३ मा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको र हिमाली गाउँपालिकामार्फत निर्माण कार्य अघि बढिरहेको जानकारी दिए ।

उनले प्रहरी चौकी निर्माण भइरहेको क्षेत्र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने स्पष्ट पार्दै अवरुद्ध निर्माण कार्यलाई तत्काल पुनः सञ्चालन गर्न तथा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक वातावरण निर्माणमा सहयोग गर्न कर्णाली प्रदेश सरकारसँग आग्रह गरे ।
दुवै मुख्यमन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, घटनामा संलग्न दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन प्रदेश सरकारमार्फत नेपाल सरकारसँग समन्वय गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

संवादका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकार शान्ति, सुरक्षा र सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाई संवादमार्फत समस्या समाधान गर्न अपिल गरे ।

यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले पनि उक्त घटनाप्रति खेद व्यक्त गरेको थियो । बैठकले प्रदेश सभाका विभिन्न समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याई सभामा पेश गर्न आग्रह गर्ने, आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट सन्तुलित, समानुपातिक र समावेशी रूपमा विनियोजन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने तथा च्याचौर अस्थायी प्रहरी चौकी निर्माणमा अवरोध सिर्जना गर्ने दोषीमाथि कडा कारबाही गर्दै निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न संघीय सरकारसँग आवश्यक सुरक्षा प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.