धनगढी । आजदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ। बकर इद, गणतन्त्र दिवस तथा साप्ताहिक बिदा एकैसाथ परेपछि देशभर लामो छुट्टीको माहोल बनेको हो।
सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अजहा) को अवसरमा आज जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार बकर इद यही मितिमा परेको पुष्टि भएपछि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर इद परेको जानकारी प्राप्त भएकाले उक्त दिन सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।”
मन्त्रालयले बकर इदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाओस् भन्ने कामना गरेको छ।
त्यसैगरी, भोलि जेठ १५ गते शुक्रबार संविधानअनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्मरणमा मनाइने गणतन्त्र दिवस को अवसरमा पनि सार्वजनिक बिदा परेको छ। त्यसपछि शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले देशभर लगातार चार दिन लामो छुट्टी परेको हो।
लगातारको बिदाले सरकारी कार्यालय, बैंक तथा शैक्षिक संस्थाहरू केही दिन बन्द रहनेछन्। यद्यपि, लामो बिदाका कारण आन्तरिक पर्यटन क्षेत्र भने चलायमान बन्ने अपेक्षा गरिएको छ। पर्यटकीय गन्तव्य, होटल तथा यातायात क्षेत्रमा यात्रुको चहलपहल बढ्न थालेको व्यवसायीहरूले बताएका छन्।
विशेषगरी सुदूरपश्चिम, पोखरा, चितवन, लुम्बिनी तथा पहाडी पर्यटकीय क्षेत्रतर्फ घुमफिर गर्नेहरूको संख्या बढ्ने अनुमान गरिएको छ। लामो बिदालाई अवसरका रूपमा प्रयोग गर्दै धेरै परिवार घुमघाम, धार्मिक भ्रमण तथा पारिवारिक भेटघाटमा व्यस्त हुने देखिएको छ।
यस पटकको लगातार बिदाले कर्मचारी, विद्यार्थी तथा व्यवसायीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ भने पर्यटन तथा होटल व्यवसायमा आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको छ।