दिगो वन व्यवस्थापन प्रति सरकार गम्भिर छ : मुख्यमन्त्री भट्ट

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन ।

दिगो वन व्यवस्थापन कार्यविधि तत्काल स्वीकृत गरी कार्यान्वयन गर्न माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूसँगको भेटमा मुख्यमन्त्री भट्टले यस्तो प्रतिबद्धता जनाए।

उनले वन पैदावारको उपयोगसँगै यसको उचित सदुपयोग र संरक्षणलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए । सुदूरपश्चिममा उपलब्ध वन स्रोतको दिगो उपयोगमार्फत राजस्व वृद्धि, आर्थिक गतिविधिको विस्तार तथा रोजगारी सिर्जना गर्न सकिने भए पनि वन स्रोतको दुरुपयोग हुन नदिन सरकार उत्तिकै सचेत रहेको उनको भनाइ थियो ।

विगतमा वैज्ञानिक वन व्यवस्थापनका क्रममा देखिएका समस्या र कमजोरी दोहोरिन नदिन दिगो वन व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी ढङ्गले अघि बढाउनुपर्नेमा मुख्यमन्त्री भट्टले जोड दिए । वन पैदावारको सदुपयोगबाट प्रदेशको आर्थिक समृद्धिमा योगदान पुग्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

यसैबीच, सरकारले दिगो वन व्यवस्थापन कार्यविधि समयमै कार्यान्वयन नगर्दा प्रदेशले अर्बौँ रुपैयाँ बराबरको सम्भावित राजस्व गुमाउनुका साथै वन पैदावारमा आधारित आयआर्जन र रोजगारीका अवसरसमेत प्रभावित भएको सामुदायिक वनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूले बताएका छन् ।

दिगो वन व्यवस्थापन कार्यविधि तत्काल स्वीकृत गरी कार्यान्वयन गर्न माग गर्दै विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा वनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् ।

आफ्ना माग सम्बोधनका लागि विभिन्न वनसम्बद्ध संघसंस्थाले संयुक्त आन्दोलन परिचालन समिति गठन गरी आन्दोलनको तयारीसमेत गरिरहेका छन् । माग समयमै सम्बोधन नभए सडक आन्दोलनमा जाने उहाहरुको भनाइ रहेको छ ।

दिगो वन व्यवस्थापन कार्यविधि कार्यान्वयनमा देखिएको ढिलाइ अन्त्य गर्दै वन स्रोतको संरक्षण, सदुपयोग र आर्थिक लाभबीच सन्तुलन कायम गर्नुपर्ने माग वन क्षेत्रसँग आबद्ध सरोकारवालाहरूले अघि सारेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.