काठमाण्डौँ : प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने क्रम तीव्र बनाएको छ । बिचौलिया इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सरकारको दबाब बढेको विषयमा समाचार प्रकाशित भएपछि प्रहरीले पत्रकारहरूमाथि धरपकड थालेको हो ।
प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ । त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि प्रहरीले अनामनगरबाट पक्राउ गरेको छ ।
प्रहरीले नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत पुगेर संवाददाता नवराज मैनालीको खोजी गरेको छ । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको बताउने सादा पोशाकका प्रहरी कार्यालयमा पुगेका हुन । उनीहरूले मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै खोजी गरेको नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले जानकारी दिए । नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलबीच कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो ।
यसैगरी, दियो पोस्ट अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्माको खोजी गर्दै प्रहरी टोली कार्यालय पुगेको थियो । उनी कार्यालयमा नभेटिएपछि प्रहरी फर्किएको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन् ।
नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको तथा उनीमाथि दबाब बढाइएको सम्बन्धी समाचारलाई लिएर प्रहरीले थप सोधपुछ अघि बढाएको छ । यसैक्रममा नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मातृका पौडेललाई साइबर ब्यूरोमा पुगेका छन् । प्रहरीले फोन गरेर उपस्थित हुन भनेपछि उनीहरू ब्यूरो पुगेका हुन् ।
पत्रकारहरूलाई समाचार कक्षबाटै नियन्त्रणमा लिने र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने कार्यप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्य संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनविपरीत हुने बताएका छन् । उनले यस्तो कार्य तत्काल रोक्न सरकारसँग आग्रह गरेका छन् ।
प्रहरीको धरपकडपछि साइबर ब्यूरो परिसरमा नेपाल पत्रकार महासंघका पदाधिकारीसहित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू जम्मा हुन थालेका छन् । पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको प्रहरी हस्तक्षेपको विभिन्न पत्रकारहरूले विरोध जनाएका छन् ।