नेपाल र भारत पुरानो शत्रुतामा अल्झिएर बस्दैनन् : रास्वपा सभापति लामिछाने

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारत केवल दुई देश मात्र नभएर प्राचीन सभ्यताका सरोकारवाला देश भएको बताएका छन् ।

“नेपाल र भारत केवल दुई देश होइनन्, हामी प्राचीन सभ्यताका सरोकारवाला हौँ । जनकपुर र अयोध्या जोडिएपछि मात्र रामको गाथा पूरा हुन्छ,” भारत भ्रमणमा रहेका लामिछानेले भारतको हिन्दुस्तान टाइम्समा छापिएको आफ्नो लेखमा लेखेका छन्, “पशुपतिनाथ र केदारनाथलाई एकसाथ ल्याएपछि मात्र आस्था पूरा हुन्छ ।”

उनले विगतमा अल्झिएर नबस्ने पनि प्रस्ट पारेका छन् । उनले पुरानो शत्रुतामा अल्झिएर पनि नबस्ने बताएका छन् ।

“हामीसँग अब हाम्रो विदेश नीतिलाई रूपान्तरण गर्न आवश्यक पर्ने सबैभन्दा ठूलो सम्पत्ति छ । हामी विगतको कुनै झोला बोक्दैनौँ । हामी पुरानो शत्रुताद्वारा बन्धित छैनौँ,” उनले लेखेका छन्, “हामी जनताको स्तरमा सार्वभौम सन्धिहरू र अनौपचारिक बन्धनहरूले बाँधिएका छौँ । तर, विगतका नेताहरूको सानातिना सम्झौता र मौन समझदारीमा अल्झिएका छैनौँ । हामी भारत र संसारलाई खुला हृदय, स्पष्ट आँखा र पारदर्शी एजेन्डाले हेर्छौं । नेपालको आर्थिक रूपान्तरणका लागि काम गर्छौं ।”

कमजोरी लुकाएर नबस्ने पनि उनले प्रस्ट पारेका छन् । “यद्यपि, हामीसँग न त आत्मभोगको विलासिता छ, न त हामी हाम्रा कमजोरीहरू जीर्ण वाक्यांशहरू पछाडि लुकाउन चाहन्छौँ,” रविले लेखेका छन्, “हाम्रो सम्बन्धले के हासिल गरेको छ भनेर मात्र हेर्नुको सट्टा, हामी यसले के हासिल गर्न सक्थ्यो र यो के बन्न सक्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेर नयाँ सुरुआत गर्न चाहन्छौँ ।”

रवि पाँचदिने भारत भ्रममणका क्रममा हिजोबाट भारतमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.