साझेदारी कार्यक्रमले बदल्दै बझाङका किसानको जीवन, ४ हजारभन्दा बढी परिवार लाभान्वित, १४ करोड आम्दानी

जगदीश रोकाया
बझाङ, २८ जेठ : स्थानीय सरकार र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम” अन्तर्गतका परियोजनाहरूको प्रगति समीक्षा, सिकाइ आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ।

हेफर इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, सुर्मा गाउँपालिका तथा जयपृथ्वी नगरपालिकामा सञ्चालित परियोजनाका उपलब्धि, सिकाइ, चुनौती र आगामी रणनीतिबारे विस्तृत समीक्षा गरिएको थियो।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहरा, साझेदार संस्था प्रगतिशील युवा समाज तथा दलित सहयोग समाजका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो। साथै, परियोजनाबाट लाभान्वित महिला, हेफरका राष्ट्रिय तथा क्षेत्रीय कार्यालयका कर्मचारी तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

हेफर इन्टरनेशनल नेपालका सह–निर्देशक किशोर काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय कार्यालयका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाशकुमार केसीले परियोजनाको हालसम्मको प्रगति, उपलब्धि, चुनौती र सिकाइबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा प्रस्तुत विवरण अनुसार परियोजनाको कुल लागतमा ७० प्रतिशत सम्बन्धित स्थानीय तहको बजेट तथा ३० प्रतिशत हेफर इन्टरनेशनल नेपालको योगदान रहेको छ। स्थानीय सरकारमार्फत कार्यान्वयन गरिएको यस परियोजनाले पाँचवटै पालिकाका साना तथा मध्यम किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको बताइएको छ।

हालसम्म परियोजनाबाट ४ हजार १ सय परिवार प्रत्यक्ष लाभान्वित भएका छन्। कृषि तथा पशुपन्छी मूल्य श्रृंखलाअन्तर्गत किसानहरूले दूध, बाख्रा, तरकारी तथा कुखुरा व्यवसायमार्फत करिब १४ करोड रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको जानकारी कार्यक्रममा दिइयो।

परियोजना सञ्चालनपछि स्थानीय तहहरूले कृषि तथा पशु विकास कार्यक्रमलाई उच्च प्राथमिकता दिन थालेको समेत उल्लेख गरिएको छ। लाभान्वित परिवारहरूको वार्षिक आम्दानीमा वृद्धि हुनुका साथै महिला सशक्तीकरणमा पनि उल्लेखनीय योगदान पुगेको बताइएको छ।

जयपृथ्वी नगरपालिका–११ की लाभान्वित कृषक सुनिता जोशीले परियोजनाबाट प्राप्त सीप तालिम, बाख्रा पालन र तरकारी खेतीका लागि उपलब्ध सहयोगले जीविकोपार्जनमुखी जीवनशैलीबाट व्यवसायिक कृषि प्रणालीतर्फ उन्मुख हुन प्रेरणा मिलेको बताइन्।

उनका अनुसार महिलाहरूले समूह गठन गरी नियमित बचत गर्ने, बाख्रा उपहार कार्यक्रम सञ्चालन गर्ने तथा व्यवसायिक तरकारी खेतीमार्फत आयआर्जन बढाउने काम गरिरहेका छन्। यसले महिलाहरूमा आत्मनिर्भरता, नेतृत्व क्षमता र आत्मविश्वास समेत वृद्धि गरेको छ।

कार्यक्रममा सहभागी पुष्पा गिरी, सुशीला देवी बोहरा, सरस्वती सिंह र सविता बोहराले हेफर परियोजनाले आफूहरूलाई नयाँ ज्ञान, सीप र व्यवसायिक अवसर प्रदान गरेको बताए। समूहमा आबद्ध भएपछि क्षमता विकाससँगै आत्मबल समेत बढेको उनीहरूको अनुभव थियो।

यद्यपि परियोजनाबाट उत्पादन भएका कृषि उपज तथा घरेलु सामग्रीको बिक्री–वितरण र बजार व्यवस्थापनमा समस्या रहेको भन्दै सहभागी महिलाहरूले चिन्ता व्यक्त गरेका थिए। उनीहरूले उत्पादनको सुनिश्चित बजार तथा बजारीकरणका लागि सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने सुझाव दिएका छन्।

प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीका अनुसार परियोजनाअन्तर्गत पाँचवटै पालिकामा १७५ महिला समूह गठन, प्रत्येक पालिकामा एक–एक सहकारी स्थापना तथा संकलन केन्द्र निर्माण जस्ता महत्वपूर्ण कार्य सम्पन्न भएका छन्।

जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज वजालले परियोजनाले विशेषगरी महिला तथा साना किसानको आयआर्जन र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसको दिगोपनाका लागि स्थानीय तहले आवश्यक योजना बनाइरहेको बताए।

आर्थिक वर्ष २०८२\८३ सम्म परियोजनामा करिब १४ करोड रुपैयाँ खर्च भएको जानकारी समेत कार्यक्रममा दिइएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा, जयपृथ्वी नगरपालिका प्रमुख चेतराज वजाल, छविसपाथीभेरा गाउँपालिका अध्यक्ष बशन्त चलाउने, खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु थापा लगायतका वक्ताहरूले परियोजनाको प्रभावकारिता र उपलब्धिको प्रशंसा गरेका थिए।

उनीहरूले आगामी दिनमा किसानका उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास तथा कार्यक्रमको दीगो व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.