प्राकृतिक सौन्दर्यले भरिएको गाजरी झरना ओझेलमा, संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

गोदावरी–४ को आकर्षक पर्यटकीय गन्तव्यमा दैनिक पर्यटक पुग्छन्, तर सडक, खानेपानी, विश्रामस्थल र प्रचारप्रसारको अभावले सम्भावना उपयोग हुन सकेको छैन

आकाश कार्की
अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका भित्र पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य गाजरी झरना उचित संरक्षण, विकास र प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ।

स्थानीयवासीले झरनाको पर्यटन सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित निकायले आवश्यक पूर्वाधार निर्माण तथा प्रचारप्रसारमा ध्यान दिनुपर्ने माग गरेका छन्।

गोदावरी नगरपालिका–४ मा अवस्थित गाजरी झरना स्याउले बजारबाट करिब १५ किलोमिटर पहाडी दूरीमा रहेको आकर्षक प्राकृतिक सम्पदा हो। झरनासम्म पुग्न स्याउले बजारबाट चेप्टेखोला सडक हुँदै यात्रा गर्नुपर्ने हुन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा दैनिक रूपमा आन्तरिक पर्यटकहरूको आगमन भइरहे पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभाव देखिएको स्थानीयहरूको भनाइ छ।

गाजरी बस्तीका स्थानीय युवा नविन बुढा मगरका अनुसार झरनातर्फ जाने सडक खण्डमा रहेको एक मात्र पसलबाट उनले पर्यटकहरूलाई स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउँदै आएका छन्। यही व्यवसायबाट जीविकोपार्जन गर्दै आएका बुढा मगर यस क्षेत्रको पर्यटन विकासका लागि पनि सक्रिय रूपमा लागी परेका छन्।

उनले गाजरी झरनाको विकास र प्रवर्द्धनका लागि स्थानीय तह देखी प्रदेश स्तरसम्मका विभिन्न निकायमा पटक–पटक पहल गरे पनि अहिलेसम्म कुनै ठोस योजना वा बजेट विनियोजन हुन नसकेको गुनासो गरेका छन्।

“पर्यटन प्रवर्द्धन र झरनाको विकासका लागि धेरै निकायमा पुग्यौं, तर अहिलेसम्म कुनै बजेट छुट्याइएको छैन,” बुढा मगरले भने, “यहाँ आउने पर्यटकहरूले नै सामाजिक सञ्जालमार्फत यस क्षेत्रको प्रचारप्रसार गरिरहेका छन्। सम्बन्धित निकायले समयमै ध्यान दिएको भए झरनाको उचित व्यवस्थापन र विकास सम्भव हुन्थ्यो।”

स्थानीयवासीहरूले आफ्नै पहलमा गाजरी झरनासम्म पुग्न सहज हुने गरी फुट ट्रयाक निर्माण गरेका छन्। यसले पर्यटकलाई झरनासम्म पुग्न केही सहजता प्रदान गरेको छ। तथापि, यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझै धेरै पूर्वाधार निर्माण आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।

स्थानीयका अनुसार झरना क्षेत्रमा खानेपानीको व्यवस्था, विश्रामस्थल निर्माण, सुरक्षा घेराबार, सूचना केन्द्र, सरसफाइ व्यवस्थापन तथा फोटो खिच्न मिल्ने आकर्षक संरचनाहरू निर्माण गर्न सके यस क्षेत्रले ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सक्छ।

प्राकृतिक सम्पदाले धनी गाजरी झरना केवल स्थानीयको मात्र नभई सिंगो गोदावरी नगरपालिकाको पर्यटन विकासको आधार बन्न सक्ने सम्भावना बोकेको छ। तर त्यसका लागि सम्बन्धित निकायको सक्रियता, लगानी र दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.