आकाश कार्की
अत्तरिया : वर्षायाममा सामान्य वर्षा हुँदा समेत डुबान हुने कैलालीको अत्तरिया बजारको दीर्घकालीन ढल निकास समस्याको समाधानका लागि पक्की नाली निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले ७२ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरी अत्तरिया बजार क्षेत्रमा व्यवस्थित ढल निकासका लागी पक्की नाली निर्माण गर्ने काम भइरहेको हो। वर्षौंदेखी वर्षाको पानी जमेर बजार क्षेत्र जलमग्न हुने, सवारी आवागमन प्रभावित हुने तथा स्थानीय व्यवसायी र सर्वसाधारणले सास्ती भोग्दै आएको समस्यालाई स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको कार्यालयले जनाएको छ।
हाल अत्तरिया चोकदेखी पूर्व रोड स्थित ट्राफिक प्रहरी कार्यालयसम्म ढल निकासका लागी आवश्यक नाली निर्माणको काम सम्पन्न भइसकेको छ। त्यसैगरी अहिले बसपार्क नजीक पहाड रोड देखी अत्तरिया चोकसम्म पक्की नाली निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेश कुमार यादवका अनुसार अत्तरिया बजारमा वर्षौंदेखि दोहोरिँदै आएको डुबान समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी प्राविधिक मापदण्ड अनुसार नाली निर्माण भइरहेको बताए । उनले प्राविधिक अध्ययन तथा स्लोप परीक्षणका आधारमा निर्माण भइरहेको नालीले वर्षाको पानी सहज रूपमा निकास हुने विश्वास व्यक्त गर्दै डुबान समस्या समाधानका लागि प्रभावकारी संरचना तयार गरिरहेको बताए।
उनका अनुसार अत्तरिया चोक क्षेत्रमा करिब २५० मिटर लम्बाइमा व्यवस्थित पक्की नाली निर्माण गरिने बताउदै यसबाट बजार क्षेत्रको पानी निकास प्रणाली थप प्रभावकारी हुने अपेक्षा गरिएको जानकारी दिए।
डिभिजन प्रमुख यादवले अत्तरिया चोकमा बनेको पुरानो नाली जीर्ण भइसकेकाले वर्षौंदेखि चोकमा पानी जम्ने समस्या रहेको बताए। त्यसलाई हटाएर नयाँ स्लोप परीक्षण तथा प्राविधिक डिजाइन अनुसार व्यवस्थित नाली निर्माण भइरहेको जानकारी दिँदै अहिले अत्तरिया चोकदेखि पूर्व रोडस्थित खुला खेल मैदानसम्म नाली निर्माणको काम भइसकेको र आगामी आर्थिक वर्षमा थप क्षेत्रमा समेत ढल निकास प्रणाली विस्तार गर्ने योजना रहेको बताए।
स्थानीयवासी तथा व्यवसायीले वर्षौंदेखि भोग्दै आएको डुबान समस्याको समाधानका लागी सुरु गरिएको नाली निर्माण कार्य समयमै सम्पन्न भए अत्तरिया बजारको ढल निकास व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। वर्षायाममा सामान्य वर्षा हुँदा समेत सडक जलमग्न हुने समस्या हट्नुका साथै सवारी सञ्चालन, व्यापार–व्यवसाय तथा दैनिक जनजीवन समेत सहज बन्ने विश्वास गरिएको छ।