थलारा गाउँपालिकाका सबै वडामा सार्वजनिक सुनुवाइ सम्पन्न
सेवाप्रवाहप्रति जनताको प्रतिक्रिया संकलन, सुशासन र जवाफदेहिता सुदृढ बनाउन निरन्तरता दिनुपर्नेमा जोड
बझाङ, २२ असार : बझाङ थलारा गाउँपालिकाले वडा कार्यालयबाट प्रदान हुँदै आएका सेवाको प्रभावकारिता, पारदर्शिता तथा जवाफदेहिताको मूल्याङ्कन गर्ने उद्देश्यले गाउँपालिकाभित्रका सबै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
विगतका वर्षहरूमा गाउँपालिका स्तरमै सार्वजनिक सुनुवाइ गर्दै आएको थलारा गाउँपालिकाले यस वर्ष भने सेवा प्रवाहको वास्तविक अवस्था, सेवाग्राहीका गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा संकलन गर्न वडा तहमा कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा साइपाल सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमका सहजकर्ता तथा पत्रकार पदम खड्काका अनुसार असार १७ गतेदेखि सहजकर्ताको टोली परिचालन गरी गाउँपालिकाका सबै ९ वटै वडामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो ।
कार्यक्रममा सम्बन्धित वडा सचिवहरूले आर्थिक वर्ष २०८२\०८३ मा वडाबाट सञ्चालन भएका योजना तथा कार्यक्रम, बजेटको अवस्था, घटना दर्तालगायतका सेवा तथा गतिविधिबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । त्यसपछि स्थानीय उपभोक्ता, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाले वडा कार्यालयको सेवा प्रवाहबारे आफ्ना धारणा राखेका थिए ।
सहभागीहरूले राम्रो कामको खुलेर प्रशंसा गर्दै सेवा प्रवाहमा देखिएका कमजोरी, ढिलासुस्ती तथा सुधार गर्नुपर्ने पक्षबारे प्रश्न उठाएका थिए । उनीहरूले वडा सचिव तथा जनप्रतिनिधिहरूसँग विभिन्न जिज्ञासाको जवाफसमेत मागेका थिए ।
कार्यक्रमका क्रममा अधिकांश सहभागीहरूले स्थानीय सरकार स्थापना भएपछि गाउँको विकासले गति लिएको अनुभव सुनाउँदै अब बाँकी रहेका सडक सञ्जाल विस्तार, उत्पादनमुखी तथा व्यवसायिक कृषिमा जोड, कृषि उत्पादनको बजारीकरण र रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । यसबाट थलारावासीको आर्थिक अवस्था र जीवनस्तरमा थप सुधार आउने विश्वास व्यक्त गरिएको थियो ।
आर्थिक वर्षको अन्त्यमा आयोजना गरिएको सार्वजनिक सुनुवाइलाई वडाहरूले वार्षिक समीक्षा गर्ने अवसरका रूपमा समेत उपयोग गरेका छन् । कार्यक्रममा उठेका सुझाव तथा गुनासालाई आगामी योजना निर्माण र सेवा सुधारमा समेट्ने प्रतिबद्धता जनप्रतिनिधि तथा कर्मचारीहरूले व्यक्त गरेका थिए ।
वडा नं. २ दंगाजीका वडा सचिव नवराज गिरीले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले सरकारी निकायमा सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने भएकाले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।
थलारा गाउँपालिकाले पहिलो पटक वडा तहसम्म सार्वजनिक सुनुवाइ विस्तार गरेपछि स्थानीय सरकार र नागरिकबीचको संवाद अझ प्रभावकारी बनेको सहभागीहरूको भनाइ रहेको छ । स्थानीय आवश्यकता, गुनासा र सुझाव प्रत्यक्ष रूपमा संकलन गर्ने यस्तो अभ्यासले सेवा प्रवाहलाई थप जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।