धनगढी : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य तीव्र भइरहेका बेला साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) का चार प्रदेश सांसदले पार्टीका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन्। बदलिँदो राजनीतिक परिस्थितिका बीच भएको यो भेटलाई प्रदेशको आगामी सत्ता समीकरणसँग जोडेर हेरिएको छ।
पूर्वमन्त्री घनश्याम चौधरी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी र इन्दीरा गिरीले बर्दियाको गुलरियास्थित रेशम चौधरीको निवासमा पुगेर प्रदेश सरकार गठन, नयाँ गठबन्धनको सम्भावना, पार्टीको भूमिका तथा आन्तरिक एकताबारे लामो छलफल गरेका हुन्। स्रोतका अनुसार साबिक नाउपाका पाँचै सांसद एउटै धारमा रहे पनि सांसद टीका थापा स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन सकेनन्।
नागरिक उन्मुक्ति पार्टी र नेकपाबीच भएको एकतालाई स्वीकार नगरेका यी सांसदहरूले पछिल्लो राजनीतिक घटनाक्रमलाई केन्द्रमा राखेर साझा रणनीति बनाउने विषयमा पनि छलफल गरेका थिए। बैठकले आगामी सरकार गठन प्रक्रियामा साबिक नाउपाको भूमिका कसरी रहने भन्ने विषयलाई समेत केन्द्रमा राखेको स्रोतको दाबी छ।
यो भेट नेकपाको संसदीय दलले आफ्नै नेतृत्वमा सरकार गठनका लागि अन्य दलसँग औपचारिक संवाद अघि बढाउने निर्णय गरेको भोलिपल्ट भएको हो। त्यसैले राजनीतिक वृत्तमा यसलाई सामान्य भेटभन्दा बढी अर्थपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।
भेटमा सहभागी सांसद घनश्याम चौधरीले भने यसलाई नियमित भेटघाट मात्रै भएको बताएका छन्। उनका अनुसार आफूहरू अहिले नेकपासँग आबद्ध रहेकाले पार्टीले गर्ने निर्णयअनुसार नै अगाडि बढ्नेछन्।
सुदूरपश्चिमको सत्ता राजनीतिमा रेशम चौधरीको प्रभाव यसअघि पनि निर्णायक देखिएको थियो। एमालेका राजेन्द्र रावल नेतृत्वको सरकारलाई तत्कालीन नाउपाले विश्वासको मत नदिएपछि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्न सफल भएका थिए। त्यसबेला रेशम चौधरीको रणनीतिक भूमिकालाई निर्णायक मानिएको थियो।
अहिले कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परिसकेको अवस्थामा फेरि रेशम चौधरीसँग भएको यो भेटले प्रदेशको नयाँ सत्ता समीकरणबारे राजनीतिक चासो थप बढाएको छ। अब बन्ने सरकारमा साबिक नाउपाको धार कता मोडिन्छ र रेशम चौधरीले कसलाई समर्थन गर्नेछन् भन्ने प्रश्नले प्रदेशको राजनीतिक केन्द्रबिन्दु ओगटेको छ।
सुदूरपश्चिममा सरकार गठनको प्रक्रिया निर्णायक मोडमा पुगेका बेला रेशम चौधरी र साबिक नाउपाका सांसदबीच भएको यो भेट आगामी राजनीतिक समीकरणलाई प्रभावित पार्न सक्ने महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।