धनगढीबाट सार्वजनिक भयो प्रोटोनको नयाँ विद्युतीय कार ‘ई–मास ५’

धनगढी  : मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो नयाँ विद्युतीय कार ‘ई–मास ५’ सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढीबाट सार्वजनिक गरेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आइतबार धनगढीमा आयोजित विशेष कार्यक्रममा उक्त विद्युतीय सवारी सार्वजनिक गरेको हो।

कम्पनीले ई–मास ५ लाई प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ। प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसअघि नेपाली बजारमा ई–मास ७ सार्वजनिक गरिसकेको कम्पनीले यसपटक रियर ह्वील ड्राइभ प्रणालीमा आधारित ई–मास ५ बजारमा ल्याएको हो।

ब्याट्री क्षमताका आधारमा प्राइम भेरियन्टमा ३०.१२ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले पूर्ण चार्जमा करिब २२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। त्यस्तै, प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट–आवर क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा ३२५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने बताइएको छ।

मोटर क्षमतातर्फ प्राइम भेरियन्टमा ५८ किलोवाट र प्रिमियममा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले शक्तिशाली, सहज तथा आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ।

ई–मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सन स्टेयरिङ ह्वील, ५० वाट वायरलेस फोन चार्जर, एम्बियन्ट लाइटिङ, किलेस इन्ट्री लगायतका आधुनिक सुविधा समावेश गरिएको छ। सुरक्षाका लागि ६ वटा एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम तथा ३६० डिग्री क्यामेरा जस्ता अत्याधुनिक सुरक्षा फिचर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रोटोन ई–मास ५ ले मलेसियाको प्रतिष्ठित ‘भेइकल अफ द इयर अवार्ड–२०२६’ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर’ उपाधिसमेत जित्न सफल भएको छ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानाले सुदूरपश्चिममै पहिलो पटक यस्तो आधुनिक विद्युतीय सवारी सार्वजनिक हुनु प्रदेशका लागि सकारात्मक सुरुआत भएको बताइन्। उनले विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा वातावरणीय प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने र किफायती मूल्यका कारण सुदूरपश्चिममा पनि विद्युतीय सवारीको माग उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरिन्।

कम्पनीका अनुसार आकर्षक मूल्य, आधुनिक प्रविधि, पर्याप्त रेन्ज, उन्नत सुरक्षा सुविधा तथा वातावरणमैत्री विशेषताका कारण सार्वजनिक भएकै दिन ई–मास ५ प्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको छ। कार्यक्रममा सहभागी केही ग्राहकले सोही दिन गाडी खरिदसमेत गरेका थिए।

कम्पनीले ई–मास ५ नेपाली विद्युतीय सवारी बजारमा सुलभ मूल्य, आधुनिक प्रविधि, उच्च सुरक्षा सुविधा र उत्कृष्ट कार्यसम्पादनका कारण प्रतिस्पर्धी विकल्पका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.