अत्तरिया : डा. गोविन्द केसी पक्ष र सरकारबीच जारी वार्ता निर्णायक चरणमा पुगेको छ । डा. केसीले अघि सारेका पाँचबुँदे मागमध्ये अधिकांश विषयमा प्रारम्भिक सहमति जुटेपछि तयार गरिएको सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइएको छ ।
केन्द्रबाट स्वीकृति प्राप्त भएलगत्तै आजै अन्तिम सहमति गर्ने प्रयास भइरहेको वार्ता टोलीले जनाएको छ । आइतबार करिब ११ घण्टा लामो छलफलपछि धेरैजसो विषयमा सहमति बने पनि केही बुँदामा निर्णय बाँकी रहेकाले सोमबार बिहान १० बजेदेखि पुनः वार्ता सुरु गरिएको हो ।
वार्तामा सहभागी एक सदस्यका अनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने विषयमा सहमति जुटिसकेको छ । उपकुलपतिको विषयमा भने यथावत् राख्ने वा अन्य विकल्प अपनाउनेबारे छलफल जारी रहेको जनाइएको छ ।
सरकार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गर्ने, चालु शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सुरु गर्ने, छात्रवृत्ति ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा विगतका सहमतिहरू कार्यान्वयन गर्ने विषयमा सकारात्मक देखिएको वार्ता टोलीको भनाइ छ ।
वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल तथा पुकार बम सहभागी छन् । डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा प्रतिनिधित्व गरिरहेका छन् ।
सरकारी टोलीले पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरेपछि सेती प्रादेशिक अस्पताल पुगेर डा. केसीसँग प्रत्यक्ष संवादसमेत गरेको थियो ।
डा. केसी गत बिहीबारदेखि धनगढीमा सत्याग्रहमा छन् । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार भइरहेको छ । वार्ता टोलीले केन्द्रबाट अनुमोदन प्राप्त हुनासाथ सहमतिको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ ।