पूजा धानुक मृत्यु प्रकरण : अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

अत्तरिया  : धनगढीकी पूजा धानुकको मृत्यु प्रकरणमा अन्तिम संस्कार गर्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। माइती पक्ष र ससुराली पक्ष शुक्रबार पनि जिल्ला प्रहरी कार्यालय कैलाली अगाडि जम्मा भएर छलफलमा रहे पनि शव व्यवस्थापनबारे कुनै निष्कर्ष निस्किएको छैन।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार दुवै पक्षबीच सहमति जुटाउने प्रयास जारी रहे पनि अहिलेसम्म अन्तिम संस्कार कसरी र कहिले गर्ने भन्ने टुंगो लागेको छैन।

शुक्रबार अन्तिम संस्कार गर्ने विषयमा दुवै पक्षबीच विवाद चर्किएपछि शव तत्काल व्यवस्थापन हुन सकेको थिएन। त्यसपछि शवलाई लासघरमै राखिएको प्रहरीले जनाएको छ।

यसअघि श्रीमान् पक्षले तत्काल दाहसंस्कार गर्नुपर्ने अडान राखेको थियो भने माइती पक्षले पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि मात्रै शव बुझ्ने र अन्तिम संस्कार गर्ने अडान लिएको थियो। यही विषयमा विवाद बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय परिसर केही समय तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय अवस्था रोक्न ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो।

मृतकका श्रीमान् भरत धामीसहित पाँच जनालाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। पक्राउ पर्नेमा उनका बाजे, बज्यै, फुपू र बहिनी पनि रहेका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथलाकी पूजा धानुकले प्रेम सम्बन्धपछि गत मंसिरमा धनगढीका भरत धामीसँग विवाह गरेकी थिइन्। विवाह भएको नौ महिना नपुग्दै उनको मृत्यु भएपछि घटनालाई लिएर विभिन्न आशंका व्यक्त हुँदै आएको छ भने प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.