अत्तरिया : सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी भइरहेका बेला नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चुलिएको छ। एमालेसँगको सहमतिअनुसार संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित भए पनि मानबहादुर धामी पक्षले दलको नेतृत्व परिवर्तनको प्रयास गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार साविक नाउपा र एकीकृत समाजवादीका सांसदको साथ नपाएपछि उक्त प्रयास सफल हुन सकेन। अहिले भने दल नेता परिवर्तनभन्दा मन्त्री पदको भागबण्डालाई लिएर आन्तरिक रस्साकस्सी बढेको बताइएको छ।
यद्यपि नेकपाका उपनेता प्रकाश रावलले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गर्दै केन्द्रीय सहमतिअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले मार्ग प्रशस्त गरेपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताएका छन्।