अत्तरिया : धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी २३ वर्षीया पूजा धानुकको शव आठ दिनदेखि सेती प्रादेशिक अस्पतालमा छ। मृतकका माइती पक्षले उनको हत्या भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेर शव उठाउन अस्विकार गरेका छन्।
माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पुजाका श्रीमान भरत धामीसहित पाँचजनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै माइती पक्षले सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र सेती प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार मृतकका श्रीमान, बाजे, बज्यै, नन्द र फुपुलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। पुजाको परिवारले उनले आत्महत्या गरेको दावी गरेका छन्। हत्या भएको माइती पक्षको आरोप छ।
पुजाले आत्महत्या गरेको भनेर उनका श्रीमानले प्रहरीसँग बयान दिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत ११ साउनको बेलुकी ५ बजेतिर पुजा घरभित्र पंखामा साडीको पासो लगाएको अवस्थामा फेला पारेको र तत्कालै नवजीवन अस्पताल लगेको बयान उनले दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार त्यतिबेलासम्म घरपरिवारले प्रहरीलाई खबर गरेका थिएनन्। अस्पताल पु¥याएको केहीबेरमा चिकित्सकले पुजालाई मृत घोषणा गरेका थिए। शवको नेपालगञ्जमा पोष्टमार्टम गरिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक बिष्टले माइती पक्षले नमानेपछि शव सेती प्रादेशिक अस्पतालमै रहेको बताए। कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीतलाकी पुजाको गत मंसिरमा विवाह भएको आफन्तले बताएका छन्। उनकी आमा पार्वतीले छोरीको हत्या भएको बताएकी छन्। ‘मेरी छोरीको हत्या भएको हो। दोषीलाई कारबाही हुनुपर्छ’ उनले भनिन् ।