मानवीय सेवाको उदाहरण बन्यो निसर्ग हस्पिटल : गम्भीर अवस्थाका बिरामीलाई नयाँ जीवन

सृजनशिल यूवा क्लवद्वारा क्लवका अध्यक्ष राईको निःशुल्क उपचार साथै अहम भूमिका निभाएका निसर्ग हस्पिटल एवं चिकित्सक टोलीलाई सम्मान

धनगढी  : कैलालीको अत्तरियास्थित न्यु सिर्जनशील युवा क्लबले आफ्ना अध्यक्ष नरबहादुर राईको सफल उपचार, आर्थिक सहयोग तथा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र उपचारमा संलग्न चिकित्सक टोलीलाई विशेष सम्मान गरेको छ।

मङ्गलबार धनगढीमा आयोजित पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सम्मानपत्र प्रदान गर्दै क्लबले मानवीय सेवाप्रति कृतज्ञता व्यक्त गरेको हो।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष नरबहादुर राई उपचारपछि भावुक बने। उनले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको, जीवन र मृत्युबीचको कठिन संघर्षमा निसर्ग हस्पिटल र चिकित्सक टोलीले गरेको समर्पित सेवा, मानवीय व्यवहार तथा आर्थिक सहयोग जीवनभर अविस्मरणीय रहने बताए।

“मेरो जीवन बचाउन चिकित्सक टोलीले दिनरात खटियो। उपचारका क्रममा अस्पतालले देखाएको मानवीय भावना र सहयोगले मलाई नयाँ जीवन दियो। निसर्ग हस्पिटल मेरो लागि दुई पटक पुनर्जन्म दिने अस्पताल हो,” उनले भावुक हुँदै भने।

राईलाई १९ दिनअघि अत्यन्त गम्भीर अवस्थामा निसर्ग हस्पिटलमा भर्ना गरिएको थियो। उनको अवस्था यति जटिल थियो कि भेन्टिलेटरमा राख्नुपर्ने स्थिति बनेको चिकित्सकले बताएका थिए। चिकित्सक टोलीको निरन्तर प्रयास, आधुनिक उपचार पद्धति र सघन निगरानीपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको थियो। सफल उपचारपछि मङ्गलबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

उपचारका क्रममा आर्थिक समस्यासँग जुधिरहेका राईलाई अस्पताल, चिकित्सक टोली, क्लबका सदस्य तथा विभिन्न शुभेच्छुकबाट समेत सहयोग प्राप्त भएको थियो।

सम्मान कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन क्लबका सदस्य छविन्द्रनाथ योगीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मानन्द भट्टले व्यक्त गरेका थिए।

बन्दना लिम्बुको उदाहरणले थप बलियो बनायो अस्पतालको मानवीय छवि निसर्ग हस्पिटलको मानवीय सेवाको अर्को प्रेरणादायी उदाहरण केही समयअघि पनि देखिएको थियो। डडेल्धुराकी बन्दना लिम्बु करिब दुई वर्ष लामो कठिन उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउँदै घर फर्किएकी थिइन्।

अस्पतालले उनको उपचारमा बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ पूर्ण रूपमा मिनाहा गर्नुका साथै दैनिक आवतजावत सहज बनाउन एक थान आरामदायी ह्विलचेयरसमेत निःशुल्क उपलब्ध गराएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.