पुर्व प्रधानमन्त्री देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं  : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्। उनी साउन २६ गते राति पौने १० बजेको उडानर्माफत् काठमाडौं फर्किन लागेको नेता डा. प्रकाशशरण महतले बताएका छन्।

यसअघि उनले ५ साउनमा बीपी कोइरालालाई सम्झिँदै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका थिए।

देउवाले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आमनेपाली जनतालाई आह्वान गर्दै आफू स्वदेश फर्कन लागेको घोषणा गरेका थिए । बिहीबार मात्रै सर्वोच्च अदालतले गगन थापालाई कांग्रेको सभापतिको मान्यता दिने निर्णयसम्बन्धी मुद्दा पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। कांग्रेसको इतर समूहले राष्ट्रिय भेलासमेत गर्न लागेको अवस्थामा देउवा फर्किने भएका हुन्।

पूर्वप्रधानमन्त्री देउवा ०८२ चैत ७ गते सिंगापुरमा उपचारपछि हङकङ प्रस्थान गरेका थिए । त्यसलगत्तै नेपाल आउने भने पनि वालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा छानबिन अघि बढाएपछि उनी उतै रोकिएका थिए ।

सरकारले जारी पक्राउ पुर्जीविरुद्ध दायर रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट निवेदकले मागे अनुसार अन्तरिम आदेश जारी गरेको थियो । सरकारले देउवालाई समात्न इन्टरपोलको सहयोग मागे पनि रेड नोटिस जारी हुन सकेको थिएन।

 

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि हङकङ गएका थिए ।

त्यसयता उनी पत्नी डा. आरजु देउवासहित हङकङमा थिए । आरजु भने फर्किने नफर्किनेबारे केही खुलाइएको छैन। देउवा ०८२ फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.