अत्तरिया : कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एक महिनाभित्र ३०० शय्याको आफ्नै शिक्षण अस्पताल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्वविद्यालयले अस्पताल सञ्चालनसँगै यसै शैक्षिक सत्रदेखि एमबिबिएससहित चिकित्सा शिक्षाका चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई पनि तीव्र बनाएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणका आधारमा आवश्यक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण जडान, शैक्षिक तथा प्राविधिक जनशक्ति नियुक्ति र प्रशासनिक तयारीलगायतका अधिकांश काम अन्तिम चरणमा पुगेका छन्।
उनले मन्त्रिपरिषद्ले यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइसकेको जानकारी दिए। आवश्यक बजेट व्यवस्थापनसँगै शैक्षिक, प्रशासनिक र प्राविधिक प्रक्रिया पनि अघि बढिसकेको उनको भनाइ छ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ। उपकुलपति जोशीले प्रदेश सरकारको निर्णयले विश्वविद्यालयको शैक्षिक तथा प्रयोगात्मक शिक्षणलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
उनका अनुसार विश्वविद्यालय ऐनले आवश्यकता अनुसार सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका अस्पतालसँग सहकार्य गर्न सकिने व्यवस्था गरेको छ। हाल चारवटा अस्पतालसँग सहकार्य सुरु भए पनि भविष्यमा आवश्यकताअनुसार अन्य अस्पतालसँग पनि साझेदारी विस्तार गरिने उनले बताए।
उपकुलपति जोशीले चिकित्सा शिक्षामा प्रयोगात्मक अभ्यासको विशेष महत्व हुने भएकाले विद्यार्थीलाई समुदायस्तरमै व्यावहारिक अनुभव दिलाउन विभिन्न अस्पतालसँग सहकार्य अपरिहार्य रहेको बताए। उनले प्रादेशिक अस्पतालसँगको सहकार्यले गेटास्थित विश्वविद्यालयको आफ्नै ३०० शय्याको शिक्षण अस्पताल विस्तारमा कुनै असर नपर्ने स्पष्ट पारे।
केहीले प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने निर्णयपछि गेटामा पूर्ण क्षमताको अस्पताल विस्तार रोकिने आशङ्का व्यक्त गरिरहेको उल्लेख गर्दै उनले त्यस्तो भ्रममा नपर्न आग्रह गरे। उनका अनुसार अन्य अस्पतालसँगको सहकार्य शिक्षण–सिकाइको दायरा विस्तार गर्नका लागि मात्रै हो, गेटामा अस्पताल निर्माण वा विस्तार रोक्ने उद्देश्य होइन।
यता, विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले गेटामा पूर्ण क्षमताको विशिष्टीकृत अस्पताल सञ्चालन गर्ने पुरानो निर्णय अझै कार्यान्वयन नभएकाले केही आशङ्का बाँकी रहेको बताए। उनले प्रदेश सरकारको निर्णयप्रति अविश्वास नरहे पनि त्यसलाई बहाना बनाएर गेटामा पूर्ण क्षमताको अस्पताल सञ्चालनमा ढिलाइ गर्न नहुने धारणा राखे।
उनले शिक्षण कार्यक्रमसँगै विशिष्टीकृत अस्पताल सञ्चालन पनि समानान्तर रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै अब थप अन्योलको अवस्था अन्त्य हुनुपर्ने बताए।
विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबिबिएसमा ५०, बीएस्सी नर्सिङमा ३०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा २० र बी अप्टोमेट्रीमा २० जना विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदन दर्ता भइसकेको विश्वविद्यालयले जनाएको छ। साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको र आयोगको टोलीले आगामी भदौमा स्थलगत निरीक्षण गरेपछि सम्बन्धन तथा भर्नासम्बन्धी बाँकी प्रक्रिया टुंगो लाग्ने अपेक्षा गरिएको छ।