बाजुरा । धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा पूजाआजा सुरु हुने भएको छ। मुख्य पूजा भदौ ११ गते हुने भए पनि तीर्थालु तथा पर्यटकको बढ्दो चाप व्यवस्थापन गर्न अगावै पूजा सुरु गर्न लागिएको हो।
बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा गर्ने परम्परा रहे पनि पछिल्लो समय भक्तजनको संख्या बढेकाले सहज दर्शनका लागि भदौ १ गतेदेखि नै पूजा सुरु गरिनेछ।
गत वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए। यस वर्ष पनि भारतसहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ। मेला अगावै बडीमालिका क्षेत्रमा सञ्चार सुविधा सहज बनाउन टेलिकम टावर राख्ने कामसमेत भइरहेको छ।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताका कारण पछिल्लो समय पर्यटक तथा तीर्थालुको आकर्षक गन्तव्य बन्दै गएको छ।