गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपप्राध्यापक पदका लागि अन्तर्वार्ता तालिका सार्वजनिक

अत्तरिया, २३ साउन : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा कैलालीले करार सेवामा शिक्षक पदका लागि आवेदन दिएका योग्य उम्मेदवारहरूको अन्तर्वार्ता तालिका सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले २०८२ फागुन ८ गते करार सेवामा शिक्षक पदका लागि प्रकाशित गरेको विज्ञापनका आधारमा प्राप्त आवेदनमध्ये योग्यता पुगेका उप–प्राध्यापक पदका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका सार्वजनिक गरेको हो ।

विश्वविद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न विषयका उम्मेदवारहरूको अन्तर्वार्ता विषय र पदको वर्णानुक्रमअनुसार सञ्चालन हुनेछ । अन्तर्वार्ता साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तालिकामा उल्लेख छ ।

तालिका अनुसार शरीर रचनाशास्त्र, निश्चेतनाशास्त्र, जैवरसायनशास्त्र, सामुदायिक चिकित्सा, दन्त शल्यचिकित्सा, नाक–कान–घाँटी, सामान्य चिकित्सा, सामान्य शल्यचिकित्सा, आन्तरिक चिकित्सा, चिकित्सा शिक्षा, सूक्ष्मजीव विज्ञान, नर्सिङ, प्रसूति तथा स्त्रीरोग, नेत्ररोग, हाडजोर्नी तथा शल्यचिकित्सा, बालरोग, रोगविज्ञान, शरीरक्रियाशास्त्र, मनोरोग, चर्मरोग र विकिरण चिकित्सा विषयका उम्मेदवारहरू अन्तर्वार्तामा सहभागी हुनेछन् ।

प्रत्येक उम्मेदवारका लागि १५ मिनेटको अन्तर्वार्ता समय निर्धारण गरिएको छ । उम्मेदवारले आफूलाई तोकिएको समयभन्दा १० मिनेट अगावै विश्वविद्यालयले उपलब्ध गराएको विद्युतीय सम्पर्कसूत्रमा जोडिनुपर्ने सूचनामा उल्लेख छ ।
अन्तर्वार्ताका लागि प्रयोग हुने विद्युतीय माध्यमको सम्पर्कसूत्र प्रत्येक उम्मेदवारलाई एक दिनअघि विद्युतीय पत्रमार्फत उपलब्ध गराइने विश्वविद्यालयले जनाएको छ ।

प्राविधिक कारणले समस्या उत्पन्न भएमा तोकिएको समयमा सामान्य हेरफेर हुन सक्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार अन्तर्वार्तासम्बन्धी थप जानकारी विश्वविद्यालयको आधिकारिक जालपृष्ठ वा केन्द्रीय प्रशासन कार्यालयबाट लिन सकिनेछ ।
त्यस्तै, सूचनामा प्राविधिक त्रुटिका कारण कुनै विवरण फरक पर्न गएमा त्यसलाई सच्याउने अधिकार विश्वविद्यालयसँग सुरक्षित रहेको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.