संरक्षण र प्रवर्द्धनको पर्खाइमा गोदावरीका पर्यटकीय स्थल

पूर्वाधार र बजेट अभावले ओझेलमा पर्दै नगरका प्राकृतिक तथा धार्मिक गन्तव्य

आकाश कार्की
अत्तरिया  : प्राकृतिक तथा धार्मिक पर्यटनको उच्च सम्भावना बोकेको कैलालीको गोदावरी नगरपालिका भित्र रहेका थुप्रै पर्यटकीय स्थल उचित संरक्षण, व्यवस्थापन र प्रवर्द्धनको अभावमा ओझेलमा पर्दै गएका छन्। पर्याप्त पूर्वाधार, बजेट तथा सम्बन्धित निकायको प्रभावकारी पहल नहुँदा यी क्षेत्रले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न सकेका छैनन्।

नगरभित्र रहेका अधिकांश पर्यटकीय स्थल सम्म पुग्ने सडक तथा पैदल मार्गको स्तरोन्नति, खानेपानी, विद्युत्, शौचालय, विश्रामस्थल, सूचना बोर्डलगायत आधारभूत पूर्वाधारको अभाव रहेको स्थानीयहरूको गुनासो छ। साथै, प्रभावकारी प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका कार्यक्रम नहुँदा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि धेरै स्थल ओझेलमा परेका छन्।

गोदावरी नगरपालिका–४ स्थित बुढीतोला क्षेत्र तराईका विभिन्न जिल्लाबाट गर्मीयाममा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने प्रमुख गन्तव्य मध्ये एक हो। हरियाली जंगल, शीतल वातावरण र प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण यस क्षेत्रले पर्यटकहरूको मन सजिलै लोभ्याउने गर्दछ। यसै क्षेत्रबाट करिब डेढदेखि दुई घण्टाको पैदल यात्रापछि पुगिने सहस्त्रधारा गोदावरी धामको उद्गमस्थलका रूपमा चिनिन्छ। यहाँबाट बग्ने पवित्र पानी प्रसिद्ध धार्मिक स्थल गोदावरी धाममा पुग्ने विश्वास रहिआएको छ। धार्मिक तथा प्राकृतिक महत्व बोकेको यो क्षेत्र पनि आवश्यक संरक्षण र व्यवस्थापनको अभावमा रहेको स्थानीयहरूको भनाइ छ।

गोदावरी नगरपालिका भित्र वडा नं. १२ को नायल ताल, वडा नं. ४ को गाजरी झरना, वडा नं. २ को लामीताल, वडा नं ९ को भल्का धाम साथै गोदावरी धाम लगायतका दर्जनौं प्राकृतिक तथा धार्मिक स्थल रहेका छन्। यी सबै स्थल पर्यटन विकासका दृष्टिले महत्वपूर्ण भए पनि आवश्यक पूर्वाधार, संरक्षण तथा प्रचार–प्रसारको अभावले अपेक्षित रूपमा विकास हुन सकेका छैनन्। स्थलहरूमा पैदलमार्ग जोखिमपूर्ण रहेको, सुरक्षा व्यवस्थापन, विश्रामस्थल, खानेपानी, सूचना बोर्ड तथा अन्य आवश्यक पूर्वाधारको अभाव रहेको स्थानीयहरूले बताएका छन्। स्थानीयका अनुसार सम्बन्धित निकाय सँग पटक–पटक पर्यटन विकासका लागि बजेट विनियोजन र आवश्यक योजना माग गरिए पनि अपेक्षित सुनुवाइ हुन सकेको छैन।

यस्तै वडा नं. ४ स्थित गाजरी झरना नगरकै प्रमुख पर्यटकीय सम्भावना बोकेको झरनामध्ये एक मानिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा दैनिक रूपमा आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्। गाजरी बस्तीका स्थानीय नविन बुढा मगरले झरनाको संरक्षण तथा विकासका लागि स्थानीय तहदेखि प्रदेश सरकारसम्म पटक–पटक पहल गरे पनि हालसम्म कुनै ठोस योजना वा बजेट विनियोजन नभएको गुनासो गरे।

उनका अनुसार, “गाजरी झरनाको विकास र पर्यटन प्रवर्द्धनका लागि धेरै निकायमा पुग्यौं, तर अहिलेसम्म कुनै बजेट छुट्याइएको छैन। अहिले यहाँ आउने पर्यटकहरूले सामाजिक सञ्जालमार्फत नै यस क्षेत्रको प्रचार–प्रसार गरिरहेका छन्। सम्बन्धित निकायले समयमै ध्यान दिएको भए झरनाको व्यवस्थित विकास सम्भव हुन्थ्यो।”

त्यस्तै, गोदावरी नगरपालिका–१२ मा अवस्थित नायल ताल प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आकर्षक गन्तव्य हो। हरियाली वातावरण, शान्त प्राकृतिक परिवेश र तालको मनोरम दृश्यका कारण पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। पिकनिक, घुमफिर तथा प्रकृतिसँग समय बिताउन उपयुक्त गन्तव्यका रूपमा परिचित भए पनि पर्याप्त प्रचार–प्रसार, पूर्वाधार विकास र संरक्षणको आवश्यकता रहेको स्थानीयहरू बताउँछन्।

स्थानीय सरोकारवालाहरूले गोदावरी नगरपालिकाभित्र रहेका सम्पूर्ण पर्यटकीय तथा धार्मिक स्थलहरूको संरक्षण, पूर्वाधार विकास, प्रचार–प्रसार तथा दीर्घकालीन पर्यटन योजनामा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।

पर्यटन क्षेत्रको योजनाबद्ध विकास, आवश्यक बजेट विनियोजन, पूर्वाधार निर्माण तथा प्रभावकारी प्रवर्द्धन गर्न सके गोदावरी नगरपालिकाको पर्यटन क्षेत्रले उल्लेखनीय फड्को मार्ने विश्वास गरिएको छ। यसले स्थानीय आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जना, व्यवसाय विस्तार र समग्र क्षेत्रीय विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.