बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा, ४९८.४ वर्ग किलोमिटर क्षेत्र समेटियो

अत्तरिया  : सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका क्षेत्र र अछामको रामारोशन क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ । बुधबार धनगढीमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१०) बमोजिम उक्त क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

यसअघि मुख्यमन्त्री शाहको अध्यक्षतामा श्रावण १९ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बडीमालिका र रामारोशन क्षेत्रलाई समेटेर वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । नवनियुक्त संरक्षण क्षेत्रमा बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा नं. ५, ६, ७ र ८, त्रिवेणी नगरपालिकाका वडा नं. ५, ६, ७ र ९, अछामको मेल्लेख गाउँपालिकाका वडा नं. १ र २ तथा रामारोशन गाउँपालिकाका वडा नं. ४, ५ र ६ समेटिएका छन् ।

यी क्षेत्रहरू समेटेर कुल ४९८.४ वर्ग किलोमिटर भूभागलाई वन संरक्षण क्षेत्र घोषणा गरिएको हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पर्यटकीय सम्भावनाका दृष्टिले महत्वपूर्ण मानिने बडीमालिका र रामारोशन क्षेत्रलाई एउटै संरक्षण क्षेत्रका रूपमा विकास गर्ने प्रदेश सरकारको निर्णयले सुदूरपश्चिमको वन तथा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बडीमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि प्रसिद्ध छ भने रामारोशन क्षेत्र ताल, वनजंगल, हिमाली भू–दृश्य र जैविक विविधताका कारण सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

प्रदेश सरकारले यी दुवै क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र घोषणा गरेसँगै वन, वन्यजन्तु, जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण तथा दिगो उपयोगका लागि थप आधार तयार भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.