बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

अत्तरिया  : दुर्गम तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिका मन्दिरमा दूरसञ्चार सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री पुर्‍याएको छ । भौगोलिक विकटताका कारण सडकमार्गबाट उपकरण ढुवानी गर्न सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्‍याइएको हो ।

बाजुरा जिल्लामा पर्ने बडीमालिका धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य हो । समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका मन्दिर क्षेत्रमा अहिलेसम्म भरपर्दो टेलिफोन तथा इन्टरनेट सेवा विस्तार हुन सकेको छैन ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएपछि सेवा विस्तारको कामलाई तीव्रता दिइएको हो । मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग दूरसञ्चार पूर्वाधारका लागि आवश्यक स्थान, सम्भावित जडानस्थल तथा सडक सञ्जालको अवस्थाबारे छलफलसमेत गरेका थिए ।

भौगोलिक कठिनाइ र सडक पहुँचको अभावका कारण उपकरण तथा अन्य सामग्री स्थलमार्गबाट पुर्‍याउन कठिन देखिएपछि हेलिकप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको हो ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो । आवश्यक सामग्री जडानस्थलमा पुर्‍याइसकेपछि करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने टेलिकमको तयारी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.